मङ्गलबार १२, असोज २०७८ ०१:४१ पवन जोशी
पवन जोशी/ महेन्द्रनगर : नेपालकै मुख्य नाकाहरु मध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले गत आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेकाे छ । कोभिड महामारीका बिच गत आर्थिक बर्षमा २ महिनाबढी नाका बन्दाबन्दी भएपनि लक्ष्य पुरा गर्न सफल भएको हो ।
नाकामा हुने भन्सार चुहावट तथा तस्करीमा नियन्त्रणमा आएसंगै गड्डाचौकी नाकामा लक्ष्यभन्दा बढी भन्सार असुली हुन थालेको हो । नाकामा सामान आयात गर्न खुलागरिएपछि भन्सार असुली बिगतभन्दा सन्तोषजनक देखिएको हो ।
खुला सिमानाका भएको नाकामा बन्द भएका कारण तस्करी हुन नपाएपछि सबै सामान भन्सार भएरनै नेपाल भित्रिन थालेपछि असुली राम्रो गर्न सकिएको कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । उनले भने, ‘सबै सामान भन्सार भएर भित्रिन थालेको मैले अनुभव गरेको छु, यसमा भन्सारको मात्र नभई नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा सम्बन्धित सबैको योगदान रहेको छ ।’
गत आर्थिक बर्ष २०७७/०७८ मा ३५ करोड ६७ लाख ८८ हजार राजस्व उठाउने लक्ष्य रहेकोमा ३७ करोड ३९ लाख २३ हजार राजस्व संकलन गर्न कार्यालय सफल भएको छ । जुन लक्ष्यको १०४.८० प्रतिशत रहेको छ । यस्तै आर्थिक बर्ष २०७६/०७७ मा ४८ करोड ६८ लाख ७५ हजार लक्ष्य रहेकोमा २६ करोड २८ लाख ९३ हजार राजस्व असुली भएको थियो । लक्ष्यको ५४ प्रतिशत मात्र हुन आउँछ ।
‘कोभिडका कारण मुख्य सिजनमा चार महिना नाका पुर्ण रुपमा बन्द हुँदा यस्तो समस्या आएको हो ।’अधिकृत जोशीले भने । यस्तै आर्थिक बर्ष २०७५/०७६ मा ४० करोड १२ लाख ८४ हजार लक्ष्य लिईएकोमा ३६ करोड ६७ लाख ८८ हजार असुली भएको थियो । जुन लक्ष्यको ९१.४० प्रतिशत हुन आउँछ । आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ४२ करोड ७७ लाख ३० हजार लक्ष्य निर्धारण गरिएको छ । गत बर्ष लक्ष्य पनि कम राखिएकाले एक महिना नाका पुर्ण रुपमा बन्द रहेपनि लक्ष्य प्राप्त गर्न सफल भएको अधिकृत जोशीले बताए । उनले भने ‘गत बर्ष लक्ष्य कम भएका कारण एक महिना बन्द भएपनि हामिले लक्ष्यभन्दा बढी असुली गर्न सक्यो, यस बर्ष पनि बन्द भएन भने हामिले लक्ष्य बढी भएपनी पुरा गछौ ।’
नयाँ आर्थिक बर्षमा पनि राजस्व संकलन सन्तोषजनक रहेको भन्दै उनले थपे, ‘कोभिडले असर गरेन भने अहिले दुई महिनाको रेसियो हेर्दा हामी लक्ष्यभन्दा बढी राजस्व संकलन गछौ ।’ सिमा तथा अन्य क्षेत्रबाट बन्दाबन्दी पछि तस्करको पहिचान गर्न सजिलो भएका कारण दिनहुँ लाखौंको तस्करीको सामान बरामद गरि भन्सार बुझाईने गरिएको छ ।
ससस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानियको सहयोगमा उक्त सामान बरामद गरि भन्सार बुझाईने गरिएको हो । ‘प्रहरी र स्थानियको सहयोगमा बरामद सामान भन्सार बुझाउने गरेका छौं, दिनहुँ लाखौंको सामान बरामद हुने गरेको छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने ।
यसै गरि ससस्त्र प्रहरी बलले पनि बढीजसो तस्करीको सामान कञ्चनपुरको दक्षणीक्षेत्र लगायतका खुला सिमानाबाट बरामद गरि भन्सार बुझाएको बताएको छ । ‘हामिले गस्ती बढाएका छौं, बढीजसो खुला सिमानाकाबाट तस्करी हुने गरेको छ, यसलाई नियन्त्रण गर्न कडाई गरेका छौं ।’ ससस्त्र प्रहरी बल नं. ३५ शैलेश्वरी गण प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.