सोमबार २५, असोज २०७८ ०१:२१ डिल्लीराज पन्त
डिल्लीराज पन्त : घटस्थापना देखी भारतको पूर्णागिरीमा लाग्ने नवरात्री मेलाका कारण कञ्चनपुरको सिमावर्ति बजार तथा आसपासका क्षेत्रमा अहिले निकै चहलपहल बढेको छ । मेला भर्ने तिर्थयात्रीहरुको चहलपहल बढे संगै यस क्षेत्रमा ब्यापार व्यवसायमा समेत बृद्धि भएको छ । मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।
कोरोना महामारीका बेला बन्दप्राय रहेका कञ्चनपुरका सिमावर्ति क्षेत्रको ब्रह्मदेव बजारमा भारतको उत्तराखण्डमा रहेको शेरा वालीको नामले प्रचलित प्राचिन पूर्णागिरी मन्दिरमा लाग्ने धार्मिक मेलाका कारण दर्शनार्थिको घुईचो संगै ब्यापारमा बृद्धि भएको छ ।
पूर्णागिरी मन्दिरको दर्शन पछि सिद्धबाबा मन्दिरको समेत अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता र विश्वासका कारण दर्शनार्थिहरु महेन्द्रनगर र ब्रह्मदेवमा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउने हुंदा यस क्षेत्रमा निकै चहलपहल बढेको र केही व्यापारमा समेत बृद्धि भएको व्यापारी विनोद भट्ट वताउछन् ।
दैनिक हजारौको संख्यामा भारतीय तिर्थयात्रीहरुका कारण यस क्षेत्रमा चहलपहल निकै बढेको छ । सामान्यतया १५ दिन अघि देखी सुरु हुने यो धार्मिक मेला घटस्थापना देखि दिपावली सम्म भव्य रुपमा चल्ने गर्दछ ।
पूर्णागिरी मेलाका कारण सदरमुकाम लगायत सिमावर्ती बजार, यातायात तथा यहांका होटेल व्यवसायमा अघि पछि भन्दा आर्थिक कारोबार बृद्धि हुने गर्दछ । भारतीय दर्शनार्थिहरुले नेपाली बजारबाट भेल्वेट कपडा, टर्चलाईट, बच्चाका खेलौना, ईलेक्ट्रोनिक सामानहरु लगायत नेपाली र चिनियां कम्पनिका सामानहरु लैजाने व्यापारी लाल बहादुर नेगी बताउंछन् ।
उक्त मेलाका कारण दुई देशबीच धार्मिक पर्यटकको विकास र सम्वन्ध सुमधुर मात्र नभई कञ्चनपुरको व्यापार व्यवसायमा पनि निकै टेवा पुगेको देखिन्छ ।
सिद्धबाबा मन्दिर संरक्षण समितिका अनुसार यस धार्मिक मेलामा भारतका विभिन्न शहरवाट भक्तालुहरु पुर्णागिरी माताको दर्शन पछि कञ्चनपुरको व्रह्मदेव र महेन्द्रनगरमा अवस्थित शिद्ध वावाको दर्शन गर्न आउने गरेका छन् । भारतको उत्तराखण्डमा अवस्थित माता पुर्णागिरीको दशर्न पछि कञ्चनपुरमा रहेका शिद्ध बाबाको पुजा अर्चना गर्दा मात्रै मनोकांक्षा पुर्ण हुने परम्परागत जनविश्वास रहदै आएकाले आफुहरु सिद्धवावाको दर्शन गर्न आउने गरेको भारतिय दर्शनार्थिहरुले बताएका छन ।
यस्ताखाले धार्मिक मेलामा आउने तिर्थालु भक्तजनहरुका लागी स्थानिय प्रशासन ले सिमामा सहजता , पिउने पानी, विश्रामस्थल लगायत का सुविधा दिन सके थप धार्मिक पर्यटनको विकास हुने र स्थानिय व्यापार व्यवसायमा समेत निकै टेवा पुग्ने देखिन्छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.