धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सोमबार २६, बैशाख २०७९ १०:१०    पश्चिमनेपाल न्यज डट कम



महेन्द्रनगर : सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।
देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए  भने  प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।
धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार छिन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ । 
प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।



प्रतिकृया दिनुहोस