स्थानिय तह निर्वाचन २०७९

दोधारा चाँदनीमा चार वडाको मतगणना सम्पन्न, प्रमुख र उप–प्रमुखमा काँग्रेसको अग्रता

सोमबार ०२, जेठ २०७९ ११:०८    नृगबहादुर शाह



महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनीमा चार वडाको मतगणना सम्पन्न भएको छ । वडा नं. १, ५, ६ र १० मा मतगणना सम्पन्न भएको हो । वडा नं. १ मा एक  सदस्य बाहेक सबै सेट राप्रपाले जितेको छ । अध्यक्षमा बिक्रम चन्दले ८ सय ६ मत प्राप्त गरेर ३ सदस्य सहित जितेका छन् । उनका प्रतिद्धन्दी काँग्रेसले ५ सय ५ र एमालेका उम्मेदवारले ४ सय १२ मत प्राप्त गरे । एउटा सदस्यमा भने काँग्रेसले जितेको छ । 
यस्तै वडा नंं ५ मा वडा अध्यक्षमा राप्रपाका केशबबहादुर खत्रीसहितको पुरै टिम बिजयी भएको छ । उहाँका प्रतिद्धन्दी काँग्रेसले ३ सय ८० र एमालेले २ सय ७२ मत प्राप्त गरे । वडा नंं ६ मा पुरै सेट एमालेले जितेको छ । अध्यक्षमा एमालेका ओमबहादुर बस्नेत ८ सय ७४ मतका साथ बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी काँग्रेसले ७ सय ५१ मत पाएको छ । 
यसैगरी वडा नं. १० मा पुरै सेट काँग्रेसले जितेको छ । काँग्रेसका चन्द्रबहादुर सिंह ९ सय ९ मतका साथ बिजयी भएका छन् । उनका प्रतिद्धन्दी एमालेका उम्मेदवारले ६ सय ७१ मत प्राप्त गरेका छन् ।  
१० वडा रहेको उक्त पालिकामा अहिलेसम्म प्रमुख, उप–प्रमुखमा काँग्रेस नै अगाडी रहेको छ । ८ हजार ७७ मतको गणना हुँदा प्रमुखमा काँग्रेसका गोपालदत्त भट्टले ३ हजार ९२, एमालेका किशोरकुमार लिम्बुले २ हजार ९ सय ५४, स्वतन्त्र उम्मेदवार भिमबहादुर कुमाल ६ सय ८७, राप्रपाका भगिरथ भट्टले ५ सय ८६, माओवादीका निरुदेवी कामीले १ सय २२ मत पाएका छन् । 
यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका गंगादेवी जोशीले २ हजार आठ सय १६, एमालेका खीमा चन्दले २ हजार ५ सय ६७, माओवादीका भरतदत्त भट्टले १ हजार ६२, राप्रपाका रिसुकुमारी सुनवारले ५ सय ४० स्वतन्त्रका पार्वती रानामगरले ३ सय पचासी मत पाएको निर्वाचन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए । यही गतिमा मतगणना भएमा ४ गतेसम्ममा नतिजा दिन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही कारणबस मतगणनामा अवरोध नआएमा ४ गतेसम्ममा गणना सकिन्छ ।’
२६ हजार ८ सय १ मतदाता रहेको उक्त पालिकामा १८ हजार ३ सय ७१ मत खसेको थियो । 
 



प्रतिकृया दिनुहोस