शनिबार १२, भदौ २०७८ ११:२३ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर,
सुदुरपश्चिमेलीको महान पर्व गौरा शुक्रबारदेखि विधिवत् रुपमा सुरु भएको छ । तर, गत बर्षझैं यसपाली पनि कोरोना महामारीका कारण गौरा पर्वको रौनक देखिएको छैन् । विगतमा गौरा पर्व औपचारिक रुपमा सुरु हुनु अगावै यहाँका पहाडदेखि तराईका जिल्ला डेउडा भाकाबाट गुञ्जिन थालिसक्थे । यस पटक भने सुनसान छ ।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व आरम्भ हुने गर्दछ । पहिलो दिन घर–घरमा महिलाहरुले तामाका भाडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनि गर्छन् । यस दिन यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ ।
पौराणिक कालमा भगवान शिवको प्राप्तिकालागि गौरा देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको भनाई छ ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरि महिलाहरुले दुबधागो (घाटीमा लगाउने रातो पहेलो धागो) चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा पुजाआजा गर्छन् । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहेको पण्डित देवराज जोशीले बताए ।
सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यहरुको टाउको, शरिरमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले घर परिवारमा सुख शान्ती र परिवारका सदस्यहरुको दिर्घायुकालागि व्रत बसि पुजाआजा गर्ने मान्यता छ । बिरुडालाई प्रशादका रुपमा बाँड्ने चलन पनि छ । बिरुडा भुटेर खाने गरिन्छ ।
पुर्खौंदेखि धुमधामले मनाईदै आएको गौरा पर्व यस पटक खल्लो भएको देखिन्छ । गौराका बखत सुदूरपश्चिममा चहलपहल र रौनक हुन्थ्यो । सुदुरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वकासाथ यो पर्वलाई मनाउँथे । तर कोरोना रोगको महामारीले गौरा पर्वप्रतिको उत्साह हराएको छ ।
विगतमा गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किन्थे । छिमेकी भारतका विभिन्न शहरमा मजदुरी गर्न गएका हजारौं सुदुरपश्चिमेलीको सीमावर्ती नाकाहरुमा घर फर्किन भीड लाग्थ्यो । कोरोनाका कारण नाका सुनसान प्रायः छन् ।
गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवि देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यती मात्रै नभएर सामाजिक विकृती विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गरिन्छन । महिलाहरुले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।
गौरामा केटाकेटीसंगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन समेत चलि आएको छ । यसपाली गौरा निरास भएसंगै बजारमा किनमेल गर्न आउनेको संख्या खासै नभएको व्यापारीहरु बताउँछन् ।
विगतका बर्षहरुमा यहाँका केहि संघसंस्थाले यस अवसरमा डेउडा प्रतियोगितको समेत आयोजना गर्ने गरेका थिए । तर, यस पटक त्यसो हुन सकेको छैन् । सदरमुकाम महेन्द्रनगरसंगै जिल्लाका विभिन्न मठ, मन्दिर, मञ्च र सार्वजनिक मैदानमा सयौंको संख्यामा देउडा खेल्ने र हेर्नेहरुको घुँइचो लाग्ने गरेकोमा यसपाली सुनसान छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.