सर्पका पहिलेका ‘शत्रु’ अहिले बने ‘परममित्र’

शनिबार १२, भदौ २०७८ ११:५९    राजेन्द्र भट्ट



सर्पका पहिलेका ‘शत्रु’ अहिले   बने ‘परममित्र’

–राजेन्द्र भट्ट
महेन्द्रनगर, ९ भदौं
तराईको बाँके जिल्ला कोहलपुर नगरपालिका – ३ को एक गाउँ । गर्मीयाममा सर्पको  बिगबिगी । कहिकतै कसैले सर्प देख्योकि वरपर कोलाहल भैहाल्ने । लठ्ठी समातेर सर्प देखिएको ठाउँतरि दगुर्नेको हुल नै हुन्थ्यो । प्रतिष्प्रर्धा यस्तो हुन्थ्योकि मानौ सर्प मार्ने प्रतियोगिता नै हो । यस्तै परिवेशमा हुर्केका हुन्, रेञ्जर यम रावत ।
३० बर्षे रावत किशोराअवस्थामा सर्प मार्न निकै सिपालु भनेर गाउँमा चिनिन्थे । न डर नत कुनै भय । गाउँलेका घरगोठमा सर्प देखिंदा उनिलाई नै सम्झिन्थे ।  ‘कहिकतै सर्प देखिए मलाई नै बोलाउँथे ।’ सानो कद र दुब्लो शरिर भएका रेञ्जर रावत विगत सम्झदै भन्छन, ‘सानो छँदा गाउँमा थुप्रै सर्प मारियो ।’ उनि सर्पसंग यति निडर भएकी बिस्तारै लठ्ठीको सहारा लिन नै छाडे । सर्पलाई नाङ्गो हातले समातेर नै मार्न थाले । ‘सुरुमा लठ्ठीले नै मार्थे, पछि पुच्छर समातेर पछार्दै मार्न थाले ।’ यो हो, रेञ्जर रावतको  विगत ।
त्यतिबेला सर्पका ‘महान सत्रु’ रेञ्जर रावत अहिले सर्पकैं ‘परममित्र’ भएका छन् । उनमा सर्पप्रतिको दयाभाव र प्रेम एक्कासी आएको भने होइन् । उच्च शिक्षा अध्ययन गर्दैगर्दा रेञ्जर रावतको सर्पलाई हेर्ने दृष्टिकोण नै फेरियो । वन विज्ञान अध्ययनकालागि पोखरा क्याम्पस पुगेका रेञ्जर रावत पढाईकै क्रममा सर्पमोह जागेको बताउँछन् ।‘क्याम्पसमा पढदै गर्दा आफुभन्दा सिनियरहरुबाट प्रेरित भए । सर्प मार्ने हैन तिनको संरक्षण गर्नुपर्ने रहेछ भन्ने सोच पलायो ।’ रेञ्जर रावतले भने, ‘पढाईकैं क्रममा सर्प चिन्ने र समात्ने कुरा सिकियो ।’ सर्पले काँचुली फेरेझैं रेञ्जर रावतको सर्पप्रतिको सोच फेरिएपछि अहिले सेवारत जिवनमा उनि सर्प उद्दारमा खट्टिएका   छन् । 
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रेञ्जर भएर आएपछि उनले सात सय भन्दा बढी सर्पको उद्दार गरिसकेका छन् । गत आव ०७७/०७८ मा मात्रै एक सयको हाराहारीमा विभिन्न ठाउँबाट सर्प उद्दार गरिएको उनले जानकारी गराए । रेञ्जर रावत २०७३ सालबाट शुक्लाफाँटामा कार्यरत छन् । 
उनले ०७२ सालमा जिल्ला वन कार्यालय बाँकेबाट निजामती सेवामा प्रवेश गरेका हुन् । शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रसंगै अन्यत्रबाट घरगोठमा सर्प देखिएको खबर पाएलगत्तै रेञ्जर रावत हातमा ‘स्नेक क्याचर’ (सर्प समात्ने औजार) समातेर दौडिहाल्छन् ।  नेपालमा ९० भन्दा बढी प्रजातीका सर्प पाईन्छन् । जसमा ४० प्रजातीका सर्प बिषलु रहेका छन् । यि मध्ये १८ प्रजाती जतिले मानिसलाई बढी हानी पु¥याउने गरेको पाईएको रेञ्जर रावतले जानकारी गराए । सुदुरपश्चिममा धेरै जसोले सर्पलाई नमार्ने गरेको आफ्नो अनुभव सुनाउँदै रेञ्जर रावतले भने, ‘यहाँका मान्छे सर्पलाई देवताको रुप  मान्छन । पुजा गरेर धपाउने गरेको धेरै ठाउँमा देखे । खतरानै महशुस गरे मार्ने गरेको सामान्यतया देखिएको छ ।’

पछिल्लो समयमा सर्प मानवकालागि दुश्मनमात्रै नभएको जनचेतनापनि बृद्धि हुदैं गएको उनको बुझाई छ । अहिले शुक्लाफाँटा कार्यालयमा गाउँघरबाट आफुले सर्प समात्ने गरेको जानकारी पाएका ठाउँबाट फोन आउने गरेको बताउँदै उनले भने, ‘सबैलाई थाहा छैन । मध्यवर्ती क्षेत्रबाट सम्पर्कमा भएका व्यक्तिबाट सर्पबारे खबर आउने गरेका छन् ।’ 
सर्प समात्न उनले व्यक्तिगत रुपमा औजार समेत राखेका छन् । उनले सर्पमात्रै नभएर निकुञ्ज बाहिरबाट अन्य बन्यजन्तु पनि उद्दार गरेका छन् । जसमा गोहि, अजिंगर, चित्तल, लगुना र संरक्षित गिद्धलगायतका चराहरु प्नि छन् । आफुलाई सर्पसंगै अन्य वन्यजन्तुको उद्दार गर्दा बेग्लै सन्तुष्ठि मिल्ने गरेको भाव उनि व्यक्त गर्छन् । निकुञ्जमा बाहिर फेला पर्ने वन्यजन्तु  उद्दारकालागि कुनै प्राविधिक जनशक्ति छैन् ।  कर्मचारीले नै परम्परागत रुपमा वन्यजन्तुको उद्दार गर्ने गरेका छन् । ‘वन्यजन्तु उद्दार गर्न प्राविधिक दरबन्दी कुनै संरक्षित क्षेत्रमा छैन ।’ रेञ्जर रावत त्यसको आवश्यकता भएको औल्याउँदै थप्छन्, ‘यो कर्मचारीको रुचिको बिषयपनि हो ।’ सर्पसंगै अन्य वन्यजन्तु उद्दार जटील कुरा भएकाले दक्ष प्राविधिक नै हुनु पर्ने उनको भनाई छ ।
पढ्दै गर्दा अग्रजहरुबाट सिकेको सीप र व्यक्तिगत रुचिले उनि अधिकाशं सर्प चिन्नसक्ने समेत भएका छन् । ‘पहिले समातिन्थ्यो, उद्दार  गरिन्थ्यो । अब सर्प कुन प्रजातिको रहेछ भनि छुट्टाउन समेत सक्ने भएको छु ।’ रेञ्जर रावतले भने । ‘सर्प भन्ने बित्तिकै समान्यतया सबै  डराउँछन् ।  तर, तिनिलाई चिन्नेहो भने सबै सर्प बिषालु हुँदैनन् ।’ केहिदनि अघिमात्रै गाउँबाट उद्दार  गरेको ‘कोब्रा’ (गोमन) सर्प उनले आफनै कोठामा राखेका छन् । जसलाई लगत्तै शुक्लाफाँटा भित्र छाड्ने उनले जानकारी गराए । 
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको गाउँमा जन्मेकाले सानैदेखि वन्यजन्तु र बोटबिरुवा प्रति चाँसो भएकाले वन विज्ञान अध्ययन गर्न आफु लोभ्भिएको उनको भनाई छ । ‘घर छेउमै जंगल भएकाले वन्यजन्तु कोहो र केका बोट बिरुवा हुन भनि चिन्न थालेको थिए । पछि त्यहि सम्बन्धी बिषयनै पढ्न मन लाग्यो ।’ अहिले यो क्षेत्रमा हुनुको कारण खुलाउँदै उनले भने । वातावरणमा सन्तुलन बनाई राख्न र प्रकृती संरक्षण गर्न मावनसंगै सबै वन्यजन्तुको उत्तिकै अहम भुमिका रहेकाले तिनको संरक्षण र सम्बद्र्धन गर्नु अहिलेको आवश्यकता भएको उनको धारणा छ । कार्यालय समयबाहेक उनि वन्यजन्तुका  तस्विर आफ्नो क्यामरामा कैद गर्न रुचाउँछन् ।  रेञ्जर रावत एक कुशल ‘वाइल्ड लाइफ  फोटोग्राफर’ पनि हुन् । 



प्रतिकृया दिनुहोस