सोमबार २३, साउन २०७९ १२:३६ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर :साढे पाँच दशकअघि स्थापना गरीएको कञ्चनपुर कारागारका कैदीबन्दीहरुले भौतिक संरचनाको अभावमा दुर्दशापुर्ण भोगाई व्यहोनुपरेको छ । निरन्तरको साउने झरीमा त्रिपालमूनी ओवानो लाग्नुबाहेक कैदीबन्दीसमक्ष अर्को विकल्प छैन । जसलेगर्दा कैदीबन्दीहरुकालागि कैदसजाय थप कष्टकर भएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थपिँदै जानु तर भौतिक संरचनाको अवस्था ज्युँका त्युँ रहीरहनु बर्षौदेखिको जिवित समस्या हो । यतिबेला कारागारमा क्षमताभन्दा साढेचार गुणा बढी कैदीबन्दी छन् । कुल ९५ जनाको क्षमता भएको कारागारमा अहिले १ नाबालक सहित ४ सय ४८ जना कैदीबन्दी रहेका छन् । ७५ जना पुरुष र २० जना महिला राख्नसकिने क्षमताको कारागारमा १९ जना महिला र चारसय २८ पुरुष जना पुरुष कैदीबन्दी रहेको कारागारका लेखापाल रमेश भट्टले जानकारी दिए ।
२०२३ सालमा स्थापना भएको कारागारको क्षेत्रफल पाँच विगाह रहेको छ । जसमध्ये करिब दश कठ्ठा जमिनमा निर्माण गरिएका भौतिक संरचनाभित्र कोचाकोचको अवस्थामा कैदीबन्दीले सजायका दिन गिन्तीगर्दै बिताईरहेका छन् । कारागारभित्र कानुनबमोजिम सजाय भोग्दै आएका कैदीबन्दीहरुकालागि सुत्न त के बस्नकालागि पनि प्रयाप्त ठाउँ छैन । खुट्टा पसार्न समेत ठाउँ नपुग्ने भएकाले कैदीबन्दीहरु आलोपालो सुत्ने गरेका छन् । ‘भौतिक संरचना प्रयाप्त छैन, जसले गर्दा निकै समस्या भएको छ ।’ कारागारका लेखापाल भट्टले कारागारको अवस्था अवगत गराउँदै थपे, ‘बर्खालागेपछि झन अप्ठयारो भएको छ । त्रिपाल टाँगेर कैदीबन्दी बसिरहेका छन् ।’
१३ बर्षबढी समयदेखि कारागारमा कैद सजाय बिताईरहेका नाईके टेकराज जोशी कैदी र थुनुवाको संख्या बर्षेनी बढ्दै गएपनि कारागारको भौतिक संरचना जस्ताको त्यस्तै रहेको गुनासो गर्छन । ‘ग्यालरीमा समेत ठाउँ हुदैन् । पानी पर्दा झन् बिजोग हुने गरेको छ ।’ नाईके जोशीले भने ।
बषौं पुरानो संरचना र उहि क्षमता भएको कारागारमा वास्तविक क्षमता भन्दा कयौं गुणा बढी कैदीबन्दी राखिनु स्वतह समस्या भएको बताउँनुहुँदै नाईके जोशीले थपे, ‘खान, बस्न, सुत्न र शौच गर्न निकै अप्ठयारो छ । सबै भन्दाबढी समस्या अहिले बर्षाको समयमा हुने गरेको छ । अनिदो बसेर रात बिताउनु परको छ ।’ राती पालो मिलाएर सुत्नु पर्ने भएको छ । खाना खान र शौचालय जान लाम बस्नु पर्ने अवस्था रहेको कारागारमा नेपालीसंगै २४ जना भारतीय नागरिक पनि छन् ।
कारागारमा सबै भन्दा बढी १ सय ५८ जना लागुऔषध मुद्दाका छन् । यो कुल कैदीबन्दीको ३३ प्रतिशतभन्दा बढी हो । त्यस्तै ९० जना जबरजस्ती करणी, ६७ जना सबै प्रकारका चोरी, ५८ जना कर्तव्य ज्यान, २५ जना मानवबेचविखन, १० जना सवारी ज्यान, नौ÷नौ जना ज्यान मार्ने उद्योग, बहुविबाह र विविध, छ जना वन्यजन्तु, तीन जना अपहरण र दुई÷दुई जना सामान्य अपराध र हातहतियार तथा खरखजाना मुद्दाका रहेको कारागारका लेखापाल भट्टले उपलब्ध गराउनु भएको तथ्याकंमा उल्लेख छ ।
कारागारमा कैदीबन्दीको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय, मानव अधिकार रक्षक समुह, इन्सेक लगायतका संघसंस्थाले अनुगमनगरी पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
‘हामीले कारागारको भौतिक र कैदीकन्दीको अवस्थाबारे अनुगमन गरी सरकारलाई निरन्तर रुपमा प्रतिवेदन बुझाउँदै आएका छौं । ती सल्लाहसुझाव अनुरुप सुधार भएको देखिदैन ।’ राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयका प्रमुख मोहन जोशीले भने, ‘कारागारका भौतिक संरचनाहरु बर्षौदेखि जिर्ण अवस्थामा छन् । कारागारको क्षमताभन्दा कयौं गुणाबढी कैदीबन्दीहरुले असहज अवस्थामा बस्नुपरेको छ ।’
कैदीबन्दीले पाउनुपर्ने आधारभुत आवश्यकता पनि पाउन नसकेको जिकिरगर्दै आयोगका सुदूरपश्चिम क्षेत्रीय कार्यालय प्रमुख जोशीले भने, ‘अहिले बर्खाको समयमा कैदीबन्दीहरुले निकै समस्या झेल्नु परिरहेको छ । त्रिपालमूनी ओबानो बसेर रात बिताउनु परेको छ । कारागारमा खानबस्नसम्म पनि उचित व्यवस्था अझैंसम्म राज्यले प्रदान गर्न नसकेको अवस्था छ ।’
कञ्चनपुर कारागारमा बर्षौदेखि ठाउँ अभावको समस्या भएको जिकिर गर्दै मानव अधिकार रक्षक सञ्जाल कञ्चनपुरका सचिव कोमलनिरन्जन भाट भन्छन्, ‘यसबारे हामीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौ, कोचाकोचको अवस्थामा कैदीबन्दी राखिएका छन्, कारागारको क्षमताभन्दा बर्षेनी कैदीबन्दी बढ्दै गएपनि समाधान नगरिनु उचित हैन, यो मावन अधिकारको ठाडो उल्लंघन हो ।’ कैदीबन्दीको खानबस्न लगायतका आधारभुत आवश्यकता पुरा गर्नु सरकारको दायित्व भएको उनको भनाई छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.