कञ्चनपुरमा प्रहरीको ‘मिसन ड्रग्स’

ब्राउन सुगरको कारोबारी र प्रयोगकर्ताको जालो फैलिदैं

बुधबार १६, भदौ २०७८ ०८:४४    राजेन्द्र भट्ट



ब्राउन सुगरको कारोबारी र प्रयोगकर्ताको जालो फैलिदैं

राजेन्द्र भट्ट, 
चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा चिनिएको कञ्चनपुर जिल्ला केहिबर्ष यता लागुऔषध ब्राउन सुगर (खैरो हेरोईन) कारोवारको ‘अखाडा’ बन्दै गएको तथ्याकंले देखाएको छ । ब्राउन सुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रमले उजागर गरेको हो । 
केहि दिनअघि मात्रै सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क पश्चिम विद्युत कार्यालय अगाडीबाट दुई जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ ग¥यो । उनिहरुले बसको सिटमूनी पाँच ग्राम बढी ब्राउन सुगर लुकाएको फेला परेको थियो । यो उदाहरणमात्रै हो । पछिल्लो समयमा कञ्चनपुर प्रहरीको सक्रियताले ब्राउन सुगर किनबेचका घटना छयापछयाप्ती फेला परेका छन् । यस आर्थिक बर्षको साउनदेखि डेढैमहिनाको अवधीमा मात्रै प्रहरीले लागु औषधका १४ मुद्दा दर्ता गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषधमा तीन बर्षयता सबै भन्दा बढी मुद्दा दर्ता गरेको छ । आर्थिक बर्ष ०७५/०७६ मा ४६ र आव ०७६/०७७ मा ५५ मुद्दा दर्ता भएका थिए भने आव ०७७/०७८ मा लागुऔषधमा मुद्दा दर्ताको संख्या आकाशिएको छ । जिप्रकाको तथ्याकं अनुसार गत आव ०७७/०७८ मसान्तसम्म एकसय ४१ मुद्दा लागुऔषधका दर्ता भएका छन् । यो अघिल्लो आव भन्दा झण्डै तीन गुणा बढी हो ।
मुद्दा दर्तासंगै लागुऔषधमा पक्राउ पर्ने व्यक्तिको संख्या पनि पछिल्लो तीन बर्षकै उच्च छ । आव ०७७/०७८ मा दुईसय २८ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक बर्ष भन्दा पक्राउ पर्नेको संख्या पनि करिब तीन गुना बढी नै छ । आव ०७६/०७७ मा ८३ जना पक्राउ परेका थिए । यस्तै त्यसको एक बर्षअघि आव ०७५/०७६ मा ७२ जना पक्राउ परेको जिप्रको तथ्याकंमा उल्लेख छ ।
गत आवमा मुद्दा दर्ता र पक्राउ पर्नेको संख्यामात्रै बढी नभएर प्रहरीले बरामद गरेको लागुऔषध ब्राउन सुगरको मात्रा पनि निकै बढी रहेको   छ । आव ०७७/०७८ मा प्रहरीले आठसय ३९ ग्राम भन्दा बढी ब्राउन सुगर नियन्त्रणमा लिएको छ । गत आवमा प्रहरीले समातेको ब्राउन सुगरको मात्रा त्यसअघिका दईबर्षको तुलनामा कयौं गुणा बढी हो ।
आव ०७५/०७६ मा २३ ग्राम र आव ०७६/०७७ मा ६३ ग्राममात्रै रहेको थियो ।
जिप्रका कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक सिद्धराज न्यौपाने पछिल्लो समयमा धमाधम ब्राउन सुगरसहित व्यक्ति पक्राउ पर्नुले यसका प्रयोगकर्ताको संख्या जिल्लामा धेरै रहेको बताउँछन् । ‘यहाँ ड्रग्स युजर धेरै फेला पर्न थालेका छन् । वास्तबमा तिनको संख्या धेरै रहेको अनुमान गर्न सकिन्छ ।’ कञ्चनपुर प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘प्रहरीको सक्रियता पनि अहिले लागु औषधमै बढी केन्द्रीत रहेको छ । जसको प्रतिफल यति धेरै संख्यामा लागुऔषध र प्रयोगकर्ता पक्राउ पर्नु हो ।’
प्रहरीका अनुसार खुला सीमानाका भएका कारण भारतबाट ब्राउन सुगर नेपाल भित्रिने गरेको छ । यसका प्रयोगकर्ता र कारोबारी सीमापारीका तस्करको सम्पर्कमा रहने गरेका हुन्छन् । बेलामौका हेरेर सीमामैं लेनदेन हुने गरेको पाइएको छ । ‘भारतीय तस्कर सीमामैं लेनदेन गरी फर्कन्छन् । मुख्य तस्कर समात्न गाह्रो छ ।’ प्रहरी प्रवक्ता न्यौपानेले ब्राउन सुगर जिल्लामा यसरी भित्रिदै गरेको जानकारी गराउँदैं भने, ‘हामीले सुचना र शंकाका आधारमा यहाँका प्रयोग गर्नेलाई मात्रै समात्न सकेका छौं । यसको जालो नै सफागर्न कठिन छ ।’
प्रहरीले गतबर्ष एकै पटक सबै भन्दा बढी परिणाम ६३ ग्राम ब्राउन सुगर समात्न सफल भएको थियो । जिल्लाको बेलौरीबाट यति धेरै मात्रामा ब्राउन सुगर बरामद भएको हो । 
लागुऔषध सेवन र यसको वेचविखनमा बढी युवा पिढीनै रहेका छन् । प्रहरी प्रवक्ता न्यौपानेले भने ‘किशोराअवस्थादेखि ३५/४० बर्षसम्मका युवा बढी सक्रिय छन् ।’ प्रयोगकर्ता मध्येनै केहिले यसको व्यापारपनि गर्ने गरेको प्रहरीको भनाई छ । भारतीय तस्करबाट ल्याएको ब्राउन सुगर केहिमात्रा आफुले प्रयोग गर्ने र केहि विक्री गर्ने गरेको पाईएको    छ । क्रेताबाट आएको मुनाफालाई उनिहरुले फेरि ब्राउन सुगर खरिदमैं लगाउने गरेका छन् । लागुऔषध सेवन गर्नेमा धनि गरिब सबै वर्गका रहेको प्रहरीले जनाएको छ ।
यसमा संगल्न व्यक्तिले एक ‘डोज’ हजार रुपैयासम्ममा बेचविखन गर्ने गरेको पाईएको छ । कोरोना महामारी फैलिएपछि भएको लकडाउनका समयदेखि लागुऔषधका गतिविधि बढेको प्रहरीको भनाई छ ।
प्रहरी प्रवक्ता न्यौपानेले लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता पुर्वक लागेको जानकारी गराउँदै भने, ‘यो प्रहरीले मात्रै पक्राउ गरेर, मुद्दा चलाएर, अदालतले जेल सजाए गरेर समाधान हुन सम्भव छैन । त्यसकालागि मुख्यतया अभिभावकले नै आफ्नाबालबालिकाप्रति बढी ध्यान र चाँसो राख्नुपर्ने देखिन्छ । अभिभावकको निगरानी अतिआवश्यक छ । लागुऔषधको लतमा परे भविश्यनै बरबाद हुन्छ ।’ 
आफ्ना बालबालिकाको संगत के कस्तासंग छ, व्यवहार एक्कासी परिवर्तन त भएको छैन लगायतका कुरा नियाल्नु पर्ने उनको सुझाव छ । ‘कतिपय अभिभावक अरुले गर्दा बिग्रेको हो । उलाई फसाको हो । उ यस्तो गर्नै सक्दैन भनेर उम्कन खोज्छन ।’ अभिभावकले प्रहरी समक्ष पोख्ने गरेका कुराबारे जानकारी गराउँदै प्रवक्ता न्यापानेले भने ।  
लागुऔषधको लत लागेकाहरुलाई त्यसबाट छुटकारा दिलाउन सहज नभएको बताउँदै उनले सजाय दिनुमात्रै यसको निवारण नभएको    बताए । ‘यस्ता कुलतमा फसेका युवालाई सुध्रिने अवसर दिनुपर्छ । त्यसकालागि ‘रिहेभ सेन्टर’ (सुधार गृह) आवश्यक छ ।’ प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘यसकालागि स्थानीय र प्रदेश सरकारले आवश्यक पहल थाल्नु पर्ने देखिन्छ ।’ कार्वाहिसंगसंगै उनिहरुको पुर्नस्थापना पनि आवश्यक भएको उनको भनाई छ । पारिवारीक रुपमा आर्थिक अवस्था कमजोर भएकाले धेरै अभिभावकले चाहेर पनि सुधार गृहमा राख्न नसकेको अवस्था पनि रहेको उनले जानकारी गराए ।
लागुऔषधमा फसेका बढी युवापिढि नै छन् । पक्राउपरि कैद सजाय भएमा उनिहरुको गरिखाने उमेर जेलमैं बित्ने देखिन्छ । लागुऔषधमा २५ ग्रामसम्म पाँचदेखि १० बर्ष कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना तोकिएको छ । यस्तै, २५ ग्रामदेखि सय ग्रामसम्म १० देखि १५ बर्ष कैद र ७५ हजारदेखि दुईलाखसम्म जरिवाना छ भने सय ग्रामभन्दा माथि १५ बर्षदेखि आजिवन कैद र पाँचलाखदेखि २५ लाख जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यसैगरी सेवनकर्ताको हकमा एकग्रामसम्म फेलापरेमा एकबर्ष कैद वा दश हजार रुपैंयासम्म जरिवान हुने प्रहरी प्रवक्ता न्यौपानेले जानकारी गराए ।
ब्राउन सुगरको तुलनामा चरेस अघिल्लो आवको तुलनामा कम मात्रामा बरामद भएको छ । प्रहरीले गत आव ०७७/०७८ मा एक किलो पाँचसय ५१ ग्राम चरेस बरामद गरेको छ । त्यसको एक बर्षअघि अर्थात आव ०७६/०७७ को अवधीमा कञ्चनपुर प्रहरी ठुलो मात्रामा चरेस समात्न सफल भएको थियो । प्रहरीले २१ किलो २५ ग्राम बढी चरेस नियन्त्रणमा लिएको थियो । यसअघि आव ०७५/०७६ मा १३ किलो भन्दाबढी बरामद गरेको जिप्रकाको तथ्याकंमा छ ।
यस्तै प्रहरीले गत आवमा अफिम पनि समातेको छ । यसअघिका दुई बर्षमा लागुऔषध अफिममा संलग्न कुनै केस दर्ता छैन । आव ०७७/०७८ मा २८ ग्राम बढी अफिम समातेको जिप्रकाको तथ्याकंमा छ ।
ब्राउन सुगर, चरेस, अफिमसंगै नसा गर्न प्रयोग गरिने औषधीजन्य पदार्थ पनि प्रहरीले ठुलो मात्रामा बेलाबखत बरामद गर्दै आएको छ । जसमा नाइट्राभेट, फेनारगन, स्पामो, नाईट्राजेपाम बढी रहेको प्रहरीले उपलब्ध गराएको तथ्याकंमा उल्लेख छ । 



प्रतिकृया दिनुहोस