बिहिबार १६, भदौ २०७९ ०१:०८ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : सुदुरपश्चिमेलीको महान पर्व गौरा विहीबारदेखि विधिवत् रुपमा सुरु भएको छ । यहाँका पहाडदेखि तराईका जिल्ला डेउडा भाकाबाट गुञ्जिन थालेका छन् । भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्दछ । गौराको पहिलो दिन घर–घरमा महिलाहरुले तामाका भाडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनि गर्छन् । यस दिन यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ ।
पौराणिक कालमा गौरा देवि अर्थात पार्वतीले भगवान शिवको प्राप्तिकालागि निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको भनाई छ । महिला तथा महिलाहरुका लागि यो विशेष पर्व हो ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरि महिलाहरुले दुबधागो (घाटीमा लगाउने रातो पहेलो धागो) चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा पुजाआजा गर्छन् । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने धार्मिक परम्परा रहेको पण्डित लिलादत्त भट्टले बताए ।
यसै दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यहरुको टाउको, शरिरमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले घर परिवारमा सुख शान्ती र परिवारका सदस्यहरुको दिर्घायुकालागि व्रत बसि पुजाआजा गर्ने मान्यता छ । बिरुडालाई प्रशादका रुपमा बाँड्ने चलन पनि छ । बिरुडा भुटेर खाने गरिन्छ ।
गौराका बखत सुदूरपश्चिममा निकै चहलपहल र रौनक हुन्छ । सुदुरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यो पर्वलाई मनाउँछन । तर पछिल्ला दुई बर्ष भने कोरोना महामारीका कारण गौरा पर्व फितलो भएको थियो ।
गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किन्छन । छिमेकी भारतका विभिन्न शहरमा मजदुरी गर्न गएका हजारौं सुदुरपश्चिमेलीको यतिबेला सीमावर्ती नाकाहरुमा घर फर्किने गरेका छन् ।
गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवि देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यती मात्रै नभएर सामाजिक विकृती विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गरिन्छ । महिलाहरुले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् । गौरामा केटाकेटीसंगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन समेत चलि आएको छ ।
यहाँका केहि संघसंस्थाले यस अवसरमा हरेक बर्ष डेउडा प्रतियोगितको समेत आयोजना गर्ने गरेका छन् । सदरमुकाम महेन्द्रनगरसंगै जिल्लाका विभिन्न मठ, मन्दिर, मञ्च र सार्वजनिक मैदानमा सयौंको संख्यामा देउडा खेल्ने र हेर्नेहरुको घुँइचो लाग्ने गरेको छ । यसैबिच महाकाली साहित्य संगमले बिहीबारदेखि भदौ २५ गतेसम्म महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गरेको छ ।
यस बर्ष सुदुरपश्चिम प्रदेश सरकारले गौरा पर्वको विदा कटौति गरेपछि चौतर्फी बिरोध भएको छ । सुदुरपश्चिममा मात्रै नभएर केन्द्रीय राजधानी काठमाण्डौंसम्म देउडाको रौनक देख्न सकिन्छ । त्यहाँ रहेका सुदुरपश्चिमबासीले राजधानीलाई पनि केहिबर्षयता डेउडामय बनाउँदै आएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.