बृद्धभत्ता देखाउँदै लेखकको प्रचारमा वडा अध्यक्ष थापा

बुधबार ३०, कार्तिक २०७९ ०८:३३    पश्चिमनेपाल न्यज डट कम



बृद्धभत्ता देखाउँदै लेखकको प्रचारमा वडा अध्यक्ष थापा

महेन्द्रनगर : भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले सामाजिक सुरक्षा भत्ता रकम घरदैलोमा लगेर रमेश लेखकका लागि भोट माग्न थालेका छन् । स्थानीयका अनुसार अध्यक्ष थापा बुधबार साँझदेखि सामाजिक सुरक्षा भत्ता रकम लिएर स्थानीयका घरदैलोमा पुगेका छन् । उनीहरुका अनुसार थापाले भत्ता रकम दिएर रमेश लेखकलाई सहयोग गर्न भन्दै कार्ड दिएका छन् । उनी झोलाभरि पैसा र कार्ड लिएर वस्तीमा गएको स्थानीय बताउँछन् ।

वडा कार्यालयले केही दिन अघि भत्ता बाँडेर बाँकी रहेका वासिन्दालाई चुनावपछि भत्ता बाँड्ने सूचना सार्वजनिक गरेको थियो । बाँकी रहेका लाभग्राहीको भत्ता रकम लिएर उनी घरदैलोमा पुगेका छन् । लुम्बिनी विकास बैकंले केही दिन अघि वडामा भत्ता बाँडेको थियो । त्यसमा छुटेका वासिन्दाको भत्ता रकम थापा आफैंले राखेका थिए । अध्यक्ष थापाले त्यसपछि चुनावपछि मात्रै रकम बाँड्ने सूचना निकालेका थिए । वडा कार्यालयको सूचनापछि वडा कार्यालयमा भत्ता लिन पुगेका स्थानीयको कार्ड कार्यालयमा राखिएको थियो ।

स्थानीयका अनुसार कार्यालयमा कार्ड राखिएका स्थानीयको घरमा समेत उनी भत्ता रकम लिएर पुगेका छन् । उनले भत्ता रकम दिएर रमेश लेखकले पठाएको भन्दै भोट मागि रहेको स्थानीयको भनाई छ । थापा स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी लेखकका विश्वासपात्र हुन् । उनी भत्ता बाँड्न गएपछि स्थानीयले प्रहरी प्रशासनलाई समेत खबर गरेका छन् । निर्वाचन आचार सँहिता अनुसार मतदातालाई आश्वासन दिएर भत्ता रकम बाँडे कारवाही गरिने प्रावधान छ । यसबारे थापासित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यसबारे बुझ्न खोज्दा लुम्बीनि विकास बैंकका महेन्द्रनगर प्रमुख पवित्रा भट्टले भने, ‘हामीले हिजो २४३ जनालाई भत्ता दिएर फर्केका थियौ, ४० जना असक्तहरु लाईनमा बसेका र समय अभावका कारण उनिहरुलाई भत्ता दिन सकिएन लाईनमा बसेकालाई घरमै पुगेर आज आज दिने बाचा गरेर फर्केका थियौ, बैंकको स्टाप पठाएर भत्ता वितरण गराईएको हो, यसमा बैंकको कुनै राजनितिक स्वार्थ छैन, हामीले नियमित काम गरेका हौ ।’



प्रतिकृया दिनुहोस