महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    
विमानस्थलको अवरोध रमेशलाई घाँडो, आरक्ष समस्याले घेरिँदै एनपी, बिनाले कामै नगरेको गुनासो

अन्तिम प्रचारमा उम्मेदवार : विकासको लेखाजोखा गर्दै एमाले, आश्वासनका पोका बाँड्दै गठबन्धन

बिहिबार ०१, मङि्सर २०७९ ११:५६    पश्चिमनेपाल न्यज डट कम



महेन्द्रनगर :  मंसिर ४ गतेको निर्वाचनका लागि मौन अवधि नजिकिँदै गर्दा उम्मेदवारहरू अन्तिम प्रचारमा जुटेका छन् । मंसिर १ गते बिहीवार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् ।
चुनाव प्रचारका क्रममा नेकपा एमालेले विकासका मुद्दालाई अगाडि सारेको छ । एमालेको सरकार हुँदा गरेको विकासको लेखापोखा उम्मेदवारहरूले मतदातासामु राखिरहेका छन् । कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा महाकाली नदीमाथि पक्की पुल बनेको, दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अगाडि बढेको, महाकाली कोरिडोरको काम अगाडि बढेको, मझगाउँ विमानस्थल सञ्चालनका लागि ठेक्का सम्झौता भई काम थालनी भएको, महाकाली बहुप्राविधिक शिक्षालय स्थापना गरिएको, महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति गरिएको विषयलाई एमालेका उम्मेदवारले प्रमुखताका साथ उठाएका छन् । गरेका कामको लेखापोखा गर्दै एमाले उम्मेदवारले अझै जनताका सुविधाका कामलाई स्तरोन्नति गर्ने र अधुरा काम पूरा गर्ने प्रतिबद्धता गरिरहेका छन् ।
नेकपा एमालेबाट ३ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद निरुदेवी पाल उम्मेदवार छन् भने प्रदेशसभा ३(२) मा जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार छन् । उम्मेदवार विष्टले आफू भीमदत्त नगरपालिकामा नगर प्रमुख (मेयर) हुँदा गरेका विकास–निर्माणका कामलाई एजेन्डा बताउँदै विकासको गति दोधाराचाँदनीसम्म पु¥याउने प्रतिबद्धता गरिरहेका छन् ।
३ नम्बर क्षेत्रमा पालसँग सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकको प्रतिस्पर्धा छ । लेखक पटक–पटक सांसद भई मन्त्री समेत भइसकेका नेता हुन् । उनले सांसद र मन्त्री हुँदा अस्पताल सुधार, विमानस्थल सञ्चालन लगायतमा काम गर्न नसकेको गुनासो मतदाताको छ । एमाले सरकार हुँदा अगाडि बढेको विमानस्थल सञ्चालनको निर्माण कार्य कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रोकिएको छ । विमानस्थलको रनवे निर्माण क्षेत्रमा सेनाले तारबार गरेपछि काम रोकिएको छ । अवरोध हटाएर निर्माण कार्य अगाडि बढाउन कांग्रेसले अग्रसरता लिन नसकेको अवस्था कांग्रेस उम्मेदवार लेखकका लागि घाँडो बनेको छ । लेखकले आफूलाई जिताए जनताका लागि काम गर्ने आश्वासन भने बाँडिरहेका छन् ।
प्रदेशसभा ३(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको तालमेलमा नेकपा एमालेले धर्मराज जोशीलाई समर्थन गरेको छ । सत्तारुढ गठबन्धनबाट ३(१) मा प्रकाश रावल र टेकेन्द्रप्रसाद भट्ट तथा ३(२) मा बेलबहादुर राना उम्मेदवार छन् । कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद नरबहादुर धामीले एमाले सरकार हुँदा भएका विकासका कामलाई एजेन्डा बनाएर अझै विकास गर्ने भन्दै मत मागिरहेका छन् । धामीले दुर्गम गाउँमा कालोपत्रे सडक पु¥याएको, पुल–पुलेसा निर्माण गरेको, दैजी–छेला औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाएको, महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर धमाधम काम गराएको, शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना गराएको, पालिकाहरू चक्रपथ निर्माणमा सहयोग गरेको कुरालाई एजेन्डा बनाएका छन् । अगाडि बढिसकेका कतिपय काम पूरा गर्नुपर्ने, सेवासुविधा विस्तार गर्नुपर्ने भएकाले आफूलाई मतदान गर्न धामीले आग्रह गर्दै आएका छन् ।

२ नम्बर क्षेत्रमा शुक्लाफाँटा आरक्ष विस्थापितको समस्या प्रमुखताका साथ उठ्ने गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संकटकालमा विभिन्न ठाउँका बस्ती उठाएर विस्थापित गरिएको थियो । पछिल्लोपटक देउवा प्रधानमन्त्री हुँदा ७ दिनभित्र समस्या समाधान गर्छु भनिए पनि चुनावसम्म समस्या कायमै रहेकोप्रति पीडित आक्रोशित छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला अध्यक्ष सुरेन्द्र बमको नेतृत्वमा गठन भएको कार्यदलले विस्थापितलाई प्रतिपरिवार १० कट्ठा जग्गा वा ६० लाख रुपैयाँ नगद दिन सिफारिस गरेको थियो तर विस्थापित परिवारले मन पराएको सिफारिसलाई अलपत्र पारेर देउवा सरकारले छुट्टै कार्यदल गठन गरेको छ । कार्यदल मात्रै गठन गर्ने र समस्या समाधान नगर्ने प्रवृत्तिप्रति आरक्ष विस्थापित असन्तुष्ट छन् । कांग्रेसको पालामा सिर्जना भएको आरक्ष विस्थापित समस्यामा मतदाता पटक–पटक ठगिए पछि यसपालि कांग्रेस उम्मेदवार एनपी साउँदसँग लिखित प्रतिबद्धता मागिएको छ तर उम्मेदवार साउँदले लिखित प्रतिबद्धता दिएका छैनन् । उम्मेदवार साउँद पटक–पटक सांसद र मन्त्री हुँदा यस क्षेत्रका लागि के काम गरे भनेर मतदाताले प्रश्न गरिरहेका छन् ।
प्रदेशसभातर्फ २(१) मा नेकपा एमालेबाट वचनबहादुर सिंह र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट उम्मेदवार छन् भने २(२) मा नेकपा एमालेबाट कृपाराम राना तथा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्का र नेपाली कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन् । १ नम्बर क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पूर्व मन्त्री बिना मगर र नेकपा एमालेका उम्मेदवार पूर्व मन्त्री तारालामा तामाङबीच प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा हुँदैछ । 
बिना मगरले चुनाव जितेर मन्त्री भइसकेपछि केही काम गर्न नसकेको गुनासो छ । २०७४ सालको चुनावमा उम्मेदवार बिनाले १९ वटा कामलाई प्राथमिकतामा राख्दै ती काम गर्ने आश्वासन दिएकी थिइन्, ती काम पूरा नभएपछि अहिले मतदाताले बिनालाई प्रश्न गरिरहेका छन् । गत चुनावमा बिनाले प्रत्येक स्थानीय तहमा खेलकुद मैदान बनाउने, चारै स्थानीय तहमा व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र बनाउने, बेलडाँडीबाट शुक्लाफाँटा निस्किने पर्यटकीय बाटो बनाउने, सांस्कृतिक केन्द्र निर्माण गर्ने, दुग्ध उद्योग स्थापना गर्ने, कोल्ड स्टोर निर्माण गर्ने, खाली ठाउँमा पार्क निर्माण गर्ने, मत्स्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने, प्रत्येक स्थानीय तहमा पुस्तकालय बनाउने, बेलौरी र पुनर्वासलाई स्मार्ट सिटी बनाउने, सीमा सुरक्षा प्रत्याभूति हुने गरी नीतिगत पहल गर्ने, पर्यटकीय केन्द्र बनाउन गुरुयोजना निर्माण गर्ने, कृषि क्याम्पस स्थापना गर्ने, स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्ने, वृद्धवृद्धा र एकल महिलाका लागि सेवा केन्द्र स्थापना गर्ने, एक वडा एक सहकारीको अवधारणा लागू गर्ने, निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने, प्राविधिक कलेज स्थापना गर्ने र हात्ती नियन्त्रणका लागि तारबार लगाउने भनेर भोट मागेकी थिइन् तर उनी मन्त्री हुँदा समेत यी काम भएनन् । उनी चुनाव जितेपछि जनसम्पर्कमा समेत नरहेकी मतदाताको गुनासो छ ।
एमाले उम्मेदवार तामाङले केही महिना प्रदेश सरकारमा आर्थिक मामिलामन्त्री हुँदा सडक निर्माण लगायत थुप्रै योजना ल्याएका छन् । उनी मिलनसार र जनसम्पर्कमा सिपालु नेता मानिन्छन् । लामो समयदेखि कञ्चनपुरको दक्षिणी क्षेत्रमा स्थापित नेता भएकाले यसपालि उम्मेदवार तारातिर आकर्षण बढ्दो देखिएको छ । गठबन्धनभित्रकै बिनाप्रतिका असन्तुष्ट मतहरू तारातिर आउने चर्चा छ ।
प्रदेशसभातर्फ १(१) मा नेकपा एमालेबाट वीरबहादुर थापा र नेपाली कांग्रेसका बन्धु राना उम्मेदवार छन् भने १(२) मा नेकपा एमालेबाट पल्लबराज भट्ट र नेपाली कांग्रेसबाट दिवानसिंह विष्ट उम्मेदवार रहेका छन् ।



प्रतिकृया दिनुहोस