बुधबार ०६, पुष २०७९ ०८:४४ आस्था जोशी
महेन्द्रनगर : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार २० बुँदे घोषणापत्र जारी गरेको छ । बुधबार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित प्रदेशको पुर्ण बैठकले महत्वपुर्ण ५ वटा निर्णय सहित २० बुँदे घोषणापत्र जारी गरेको हो ।
प्रदेश अध्यक्ष कृष्ण ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत प्रमुख अथिति रहेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल चटौत, कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट, पुर्व सासंद डा. दिपकप्रकाश भट्ट, प्रेस चौतारी नेपालका कोषाध्यक्ष इन्द्र आचार्य, प्रेस काउन्सील नेपालका सदस्य हरि प्रसाद जोशी, प्रेस चौतारी नेपालका सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लोकसरी कुँवर, पुर्व ईन्चार्ज हेमन्त पोडेल, अको¥याबका कार्यवाहक अध्यक्ष बिष्णु अवस्थी, प्रेस चौतारी नेपालका सुदूरपश्चिम सह–ईन्चार्ज श्याम भट्ट, शिबराज ढुङ्गाना, बसन्त विक, राजेन्द्र सिंह धामी, दोधारा चादनी नगरपालिका वडा न ६का वडा अध्यक्ष ओम बस्नेत र एमाले कञ्चनपुरका उप–सचिव तथा प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्द लगायत प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु, ईन्चार्ज, सह–ईन्चार्ज र चौतारीका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रदेश महासचिव शिबराज भट्टले गरेका थिए ।
बैठकबाट जारी २० बुँदे दोधारा चाँदनी घोषणा
१. नेपाली पत्रकारको पेशागत हकहित र सुरक्षा, क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न यो बैठक नेपाल पत्रकार महासंघसँग जोडदार माग गर्दछ ।
२. पत्रकार महासंघको सदस्य भएर विभिन्न पेशा–व्यवसायमा रहेका व्यक्तिलाई सदस्य बनाइराखेर भोटको राजनीति गर्ने प्रवृत्तिको अन्त्य गरी सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्दै नेपाल पत्रकार महासंघलाई पत्रकार मात्रैको संगठन बनाउन यो बैठक माग गर्दछ ।
३. पत्रकारहरूको उज्ज्वल भविष्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबै सञ्चारमाध्यममा लागू गराउन यो बैठक माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्न यो बैठक माग गर्दछ ।
४. मनपरी ढंगले सदस्यता वितरण गर्ने र गैरपत्रकारलाई जोगाइराख्ने प्रवृत्तिका कारण पत्रकार महासंघका कतिपय शाखामा देखिएको समस्या यथाशीघ्र समाधान गर्न र पत्रकारिता क्षेत्रकै बदनाम हुने खालको अवस्था आउन नदिने वातावरण निर्माण गर्न यो बैठक माग गर्दछ ।
५. श्रमजीवी पत्रकार र सुदूरपश्चिमको समग्र पत्रकारीताको विकास, प्रवद्र्धन गर्ने गरी आम संचार नीति ल्याउन प्रदेश सरकारसँग यो बैठक माग गर्दछ ।
६. कैलालीका पत्रकार खेम ढुंगानामाथि कैलालीको लम्की चुहा नगरपालिकाका प्रमुखबाटै भएको दुव्र्यवहारको घोर भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न यो बैठक माग गर्दछ ।
७. कतिपय स्थानीय तहमा देखिएको बेथिती अन्त्यका लागि पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न यो बैठक सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।
८. कञ्चनपुरलगायत देशका विभिन्न जिल्लामा रहेको सीमा विवाद अन्त्य गर्नका लागि सक्रियता देखाउन र सीमा समस्या बारे सरकारले छिमेकी मुलुकसँग प्रष्ट संवाद गरी आफ्नो भूमि फिर्ताका लागि पहल गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ ।
९. खुला सीमा र सीमा विवादले नागरिकले भोगेको समस्यालाई तत्काल संवोधन गर्न माग गर्दछ । दार्चुलामा महाकाली नदीको धार नेपालतर्फ अतिक्रमण गरी भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न तथा नेपाल तर्फ बनाएका संरचना भत्काउन यो बैठक माग गर्दछ ।
१०. एकीकृत महाकाली नदी विकास सन्धिबाट प्राप्त अधिकारलाई स्थापित गर्दै दोधारा चाँदनीमा नहर निर्माणको कार्य अविलम्ब अगाडि बढाउन यो बैठक माग गर्दछ । साथै नेपाली भूमि अतिक्रमण रक्षाका लागि सिमानामा तैनाथ र देशभर गोलबद्ध आम नेपालीप्रति पनि यो बैठक सम्मान व्यक्त गर्दछ ।
११. कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी, विशेष आर्थिक क्षेत्र (सेज), चाँदनी तिंकर महाकाली करिडोरको निर्माण प्रक्रिया यथाशीघ्र अगाडि बढाउन यो बैठक सरकारसँग माग गर्दछ । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई एउटै स्थानीय तह बनाई उपमहानगरपालिका साथै वेदकोट नगरपालिकालाई समेट्दै महानगरपालिका बनाउन यो बैठक माग गर्दछ ।
१२. पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै हुने गरेको आवतजावतलाई व्यवस्थित र सहज बनाउन यो बैठक सरकारसँग माग गर्दछ ।
१३. कञ्चनपुरको मझगाउँ विमानस्थललाई पुनः सञ्चालन गर्न यो बैठक सरकारसँग माग गर्दछ ।
१४. खेतीपातीको समयमा किसानले भोग्दै आएको मलखाद अभावको अवस्था अन्त्य गरी मलखादको सहज आपूर्तिका लागि यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।
१५. महाकाली नदी, जोगबुढा र मलेरिया नालामा तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्न यो बैठक सरकारसँग माग गर्दछ ।
१६. डीपीआर बनिसकेको दोधराचाँदनीको स्याउले बजारदेखि कुतियाकवरसम्म सडक कालोपत्रे गर्न यो बैठक माग गर्दछ । साथै डीपीआर बनेर कार्यान्वयन हुन नसकेको दोधाराचाँदनी रिंगरोड योजनालाई यथाशीघ्र अगाडि बढाउन यो बैठक माग गर्दछ ।
१७. दोधाराचाँदनी क्षेत्रका स्थानीयलाई सहज स्वास्थ्य सेवाको पहुँचमा जोड्न हालको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ५० शैयाको अस्पतालका रुपमा विकास गर्न यो बैठक माग गर्दछ ।
१८. सुदूर पश्चिममा एउटा पनि सरकारी वा निजी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभएकोले प्रस्तावित गेटा मेडिकल कलेजलाई देशको पहिलो चिकित्सा विश्वविद्यालयको रुपमा स्थापना गर्न यो बैठक माग गर्दछ ।
१९. सुदूरपश्चिम विश्वविद्यालयमा अध्यापन गरिने पत्रकारिता तथा आमसञ्चारको पठन पाठन निकै कमजोर अवस्थामा रहेकोले तत्काल थप प्राध्यापक नियुक्ति गरि स्नातकोत्तर कक्षा सञ्चालन गर्न यो बैठक माग गर्दछ ।
२०. सुदूरपश्चिम विश्वविद्यालयमा ऐन अनुसार समायोजन गरिनु पर्ने सिद्धनाथ विज्ञान क्याम्पस र भानु बहुमुखी क्याम्पस लगायतका शिक्षा संस्थाहरुलाई तत्काल समायोजन गर्न यो बैठक मांग गर्दछ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.