केदार विद्यालयको ३८ औं बार्षिकोत्सव सम्पन्न

प्राविधिक शिक्षामा जोड दिउँ : संयोजक पन्त

आइतबार १७, पुष २०७९ ०६:५६    पश्चिमनेपाल न्यज डट कम



प्राविधिक शिक्षामा जोड दिउँ : संयोजक पन्त

दार्चुला : केदार आधारभुत विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । दार्चुला जिल्लाको लेकम गाउँपालिका–३ रतौडा स्थित विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराज पन्त सभापति रहेका थिए । 


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिईभिटी)का सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यक्रम संयोजक जीवनदत्त पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक लिलाधर पन्तले गरेका थिए । शिक्षिका राधिका पन्तले मंगलचरण मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक नन्दराज पन्तले राखेका थिए । 
कार्यक्रमको उद्धाटन पण्डित शिवदत्त पन्त र तोयराज पन्तले दियो बालेर तथा प्रमुख अतिथि जीवनदत्त पन्तले झण्डोत्लन र अध्यक्ष नन्दराज पन्तले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा गणेश मावि गाडागाउँका शिक्षक कोमल पन्त, बड्बाब देवताका झाक्री(धामी) कमलापति पन्त, कलाकार गोपाल धानुक, बुद्धिवल्लप धानुक र हार्मुनियम बादक चन्दु धानुक अतिथी रहेका थिए ।
विद्यालयमा पढाई लगायत विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पन्तले विद्यालयलाई प्राविधिक धारमा लैजान चाहेमा आफ्नो पुर्ण सहयोग रहने बताए । उनले भने, ‘पहाडमा विद्यार्थीहरु घट्दै गईरहेका छन्, अब विद्यालयले प्राविधिक शिक्षा तथा सिपमुलक कार्यक्रमहरुमा जोड दिन जरुरी छ, यसमा मेरो पुर्ण सहयोग रहनेछ ।’ उनले थपे, ‘विद्यार्थीहरुमा काम नलाग्ने शिक्षा प्रति वितृष्णा जाग्दै गएको र विद्यार्थी आकर्षित गर्न साना–साना सिपमुलक कार्यक्रमहरु सञ्चालन गरेर भएपनि रोजगारीको सृजना गर्न सकिने हुँदा विद्यालयको ध्यान त्यता जान जरुरी छ ।’ 


प्रारम्भिक तह पढाई कार्यक्रम(ईजिआरपी) सञ्चालित उक्त विद्यालय लेकम गाउँपालिकामा रहेका ४७ आधारभुत विद्यालयमध्ये  उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । वि.स. २०४२ सालमा स्थापना भएको उक्त विद्यालयबाट पढेका थुप्रै विद्यार्थीहरु सरकारी कोटामा नाम निकाल्न सफल भई ईन्जिनियर र डाँक्टर भईसकेको प्रधानाध्यापक पन्तले बताए । कार्यक्रममा हाजिरीजवाफ कार्यक्रम समेत आयोजना गरिएको थियो ।

      



प्रतिकृया दिनुहोस