सोमबार १८, पुष २०७९ ०१:३७ पश्चिमनेपाल न्यज डट कम
धनगढीः धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुई सय जनालाई रोजगारी दिने तयारी थालेको छ। यस वर्ष उपमहानगरका १९ वटै वडाबाट एक हजार चार सय ७६ जनाले बेरोजगार भएको भन्दै सुचीकृत गराएकाले दुई सय जनालाई रोजगारी दिन विभिन्न २० वटा योजना तयार पारिएको हो। तयार पारिएका योजनाको सम्झौता गर्ने काम सुरु भइसकेको उपमहानगरले जनाएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि विभिन्न २० वटा योजनाहरु छनोट गरेर तयार पारिएको धनगढी उपमहानगरपालिकाका रोजगार कार्यक्रम प्रमुख एवं रोजगार संयोजक चन्द्रबहादुर महराले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त हुने सःशर्त अनुदान अन्तर्गत एक करोड बजेट प्राप्त भएको छ। बेरोजगार सुचीमा सुचीकृतमध्ये यस वर्ष दुई जनालाई रोजगार उपलब्ध गराउने गरी योजना तयार पारेर सम्झौता गर्ने काम सुरु भइसकेको छ।’, उनले भने।
उपमहानगरभित्र खानेपानी, खानेपानी पाइप, पक्की नाली र कच्ची नाली निर्माण लगायत २० वटा योजना बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गर्ने काम भइरहेको छ। उपमहानगरपालिकाले एक सय दिने रोजगारीका लागि बेरोजगारमा सुचीकृतमध्येबाटै दुई सय जनालाई रोजगारी दिने गरी बाँकी प्रक्रिया अघि बढाइएको उपमहानगरका रोजगार संयोजक महराले बताए।
वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकहरुमा २ वर्ष काम गरेर फर्किएकाहरुलाई रोजगारी दिने गरी वैदेशिक रोजगार बोर्डको सहकार्यमा अर्को छुट्टै कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। स्थानीयतहसँगका लागत साझेदारी कार्यक्रमका रुपमा यो कार्यक्रम सञ्चालन आउने भएको हो। थप ६५ जना लाभान्वित हुने गरी उपमहानगरले ८० लाखको योजना बनाएर वैदेशिक रोजगार बोर्डमा पठाउने तयारी गरेको छ। उपमहानगरले १५ देखि २५ प्रतिशत लगानी गर्ने गरी यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी सुरु गरेको छ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.