आइतबार ०१, माघ २०७९ ०६:०४ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर: पोखरामा आइतबार भएको जहाज दुर्घटनामा महेन्द्रनगरका एक व्यवसायीका परिवारका सदस्य पनि परेका छन्। यहाँका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन्।
व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा परेका हुन्। उनीहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रामदत्त जोशी व्यवसायी भट्टका बहिनी ज्वाई हुन्। उनको केही दिनअघि मात्रै नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो।
व्यवसायी भट्ट बहिनी ज्वाइँको निम्तोमा घुम्नका लागि पुस २८ मा पोखरा पुगेका थिए। जोशीले घुम्नुका साथै माघी मनाउन उनीहरुलाई पनि पोखरा बोलाएको भट्टका भाई पदम पाठकले बताए।
‘माघी मनाएर पोखराबाटसँगै काठमाडौं फर्किने योजना थियो,’ पाठकले भने, ‘भाउजु र भतिजाहरु काठमाडौंमै बस्छन्, दाई पनि त्यहाँबाट पोखरा जानु भएको थियो।’
उनका अनुसार व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए।
भट्टकी जेठी छोरी चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन्। अर्की छोरी आइटी इन्जिनियर हुन्। उनी काठमाडौंमै काम गर्छिन्।
भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन्। उनको महेन्दनगर बजारमा पशुपती इम्पोरियम छ। भट्टले कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा दुई पटक प्रतिस्पर्धा गरेका थिए।
व्यवसायीको परिवार जहाज दुर्घटनामा परेपछि महेन्द्रनगरका व्यवसायीहरु समेत चिन्तित छन्। उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यो दुःखद घटनाले मर्माहत भएको र यस क्षेत्रका उद्योगी व्यवसायी ठूलो शोकमा परेको बताए।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.