शुक्लाफाँटामा बाघ

डेढ दशकअघिकैं हाराहारी, प्रतिबद्धतापछि दोब्बर बढी

आइतबार २०, भदौ २०७८ ०७:१८    पश्चिमनेपाल न्यज डट कम



डेढ दशकअघिकैं हाराहारी, प्रतिबद्धतापछि दोब्बर बढी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमैं दुर्लभ पाटे बाघको संख्यामा बृद्धि भएको छ । तर, डेढ दशकअघिको तुलना गर्ने हो भने अहिलेको बाघको संख्या त्यतिबेलाकैं हाराहारीमा रहेको छ । निकुञ्जमा यसबर्ष गरिएको बाघ तथा आहारा प्रजातिको अनुगमनका क्रममा यस्तो तथ्याकं देखिएको हो ।
कञ्चनपुर जिल्लाको शुक्लाफाँटामा यसबर्ष जेठ महिनामा गरिएको अनुगमनका क्रममा १९ वयस्क बाघ फेला परेका छन् । यो संख्या सन् २००५ मा गरिएको गणनाको हाराहारी हो । सन् २००५ मा अर्थात १६ बर्षअघि शुक्लाफाँटामा १८ बाघ रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन शुक्रबार प्रस्तुत गरेको तथ्याकंमा उल्लेख छ । तर, जेठ ४ गतेदेखि २३ गतेसम्म स्वचालित क्यामरा ‘क्यामरा ट्रयापिङ्ग’ प्रविधिबाट बाघको अनुगमन गरिएको थियो । जसमा ११ पोथी, छ भाले, एक लिङ्ग नखुलेको र एक तथ्याकं विश्लेषण गरी कुल १९ बाघ रहेको प्रमुख संरक्षण अधिकृत पुनले जानकारी गराए ।
‘चार बर्षअघिको संख्या भन्दा अहिले बाघ बढेका छन् । त्यसमा पनि भालेको अनुपातमा पोथीको संख्या बढी छ ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘भाले भन्दा पोथीको संख्या बढी हुनु राम्रो संकेत   हो । यसले बाघ बढ्ने सम्भावना बलियो देखिन्छ ।’ विगतमा पोथीको अनुपातमा भाले बढी थिए ।
निकुञ्जमा बाघको संख्या घट्ने र बढने क्रम जारी नै छ । सन् २००५ पछि सन् २००८ मा बाघको संख्या घटेर आठ पुगेको थियो । यसै बर्षदेखि बाघको गणनामा पहिलो पटक आधुनिक प्रविधिको प्रयोग भएको थियो । त्यतिबेलादेखि स्वचालित क्यामराबाट बाघ गणना गरिदैं आएको छ । त्यसअघि बाघको पाग मार्ग (पन्जाको छाप) र दिशापिसाब संकलन गरि संख्या निर्धारण गरिन्थ्यो । स्वचालित क्यामरा आएपछि तथ्याकं विश्वसनिय भएको प्रमुख संरक्षण अधिकृतको भनाई छ ।
सन् २०१३ मा बाघको संख्यामा उल्लेख्य बृद्धि भयो । बाघको संख्या दोब्बर बढी अर्थात आठबाट १७ पुग्यो । त्यस्तै सन् २०१८ मा एक बाघ घटेर १६ मा झरेको तथ्याकंमा उल्लेख छ । बाघ गणनाको तथ्याकंमा वयस्क मात्रै समावेश गरिन्छन् । यसमा डमरु (बच्चा)को संख्या उल्लेख नगरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले जानकारी गराए ।
निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । यस बर्ष निकुञ्जसंगै राष्ट्रिय प्रकृती संरक्षण कोष र सुरक्षार्थ तैनाथ नेपाली सेना बाघ गणनामा ३३ जना खट्टिएका थिए । राष्ट्रिय प्रकृती संरक्षण कोषका शुक्लाफाँटा कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी गराए । अनुगमन कार्यमा कोष  जेडएसएलको आर्थिक र प्राविधिक सहयोग रहेको थियो ।
सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता अनुरुप बाघको बासस्थानको अनुगमन, गणनासंगै आहार प्रजातीको पनि नियमित अनुगमन गरिदै आएको छ । शुक्लामा भने प्रतिबद्धता बर्ष भन्दा आठ बर्ष अघि नै बाघको संख्या दोब्बर भैसकेको थियो । प्रतिबद्धता भएका बेला सन् २००८ मा यहाँ बाघको संख्या आठ थियो । शुक्लाफाँटामा बाघको आहारा प्रजाती प्रयाप्तता र चोरीशिकारी नियनत्रण भएकाले यो सम्भव भएको निकुञ्जको भनाई  छ ।
पछिल्लो गणनामा देशभरी बाघको संख्या दुई सय ३५ रहेका छन् । तथ्याकं अनुसार  औसतमा सबै भन्दा बढी बाघ चितवनमा र सबै भन्दा कम बाँकेमा छन । 
एक शताब्दीअघि झण्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या पछिल्लो अवस्थामा आइपुग्दा करिब तीन हजार दुई सयको सँख्यामा सिमित भएको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । त्यस्तै मानविय क्रियाकलापका कारण बाघका आठ प्रजातीमध्ये तीन प्रजातीहरु बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन् । बाँकी रहेका पाँच प्रजातीहरु आमुर, सुमात्रा, साउथ चाइना, ईण्डो चाइनिज र रोयल बँगाल (पाटे बाघ)को अवस्थापनि दयनीय रहेको बन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ–संस्थाहरुको तथ्याकंहरुले देखाएको छ । 
लोप हुन बाँकी रहेका पाँच प्रजातीका बाघहरु नेपाल, भारत, बँगलादेश, चिन, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्याण्ड र भियतनममा मात्रै सिमित छन् । नेपालमा पाइने पाटे बाघ तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र अन्तरगतपर्ने पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा मात्र पाइने गरेका छन् । 


पाटे बाघ संरक्षित बन्यजन्तु हो । यसको चोरी शिकार तथा आखेटोपहारको व्यापार, ओसार पसार गरेमा १५ वर्ष कैद र ५ लाख देखि १० लाख सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यवस्था छ । संरक्षित बन्यजन्तुको चोरी शिकार तथा व्यापारमा सहयोग गर्ने मतियारलाई पनि प्रत्यक्ष दोषी सरह कानुनी प्राबधान छ । 



प्रतिकृया दिनुहोस