सोमबार २९, फागुन २०७९ ०६:२७ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरका आठ क्यम्पसहरुमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भाड्ने नियतकासाथ तालाबन्दी गरेपछि एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफुहरु प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । (अनेरास्ववियु)कञ्चनपुरले स्ववियु निर्वाचन हुने १६ वटा क्याम्पस मध्ये आठ क्याम्पसमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले ताला लगाएर निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ताला नखोले प्रतिकारमा उत्रिने चेतावनीसमेत अनेरास्ववियुले दिएको छ। निर्वाचन भाड्ने गरी सत्तापक्षीय विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पसहरुमा ताला लगाएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए ।
अनेरास्ववियु कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरु हारको मानसिकताले यस्तो अवस्थामा पुगेको जनाएको छ । जिल्लाका ८ वटा क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालाबन्दी गरेको रोकायाले बताए ।
‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार बञ्चित नगरियोस्,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘सत्तापक्षीय गठबन्धनका विद्यार्थी संघ, संगठनहरु पराजयको डरले तालाबन्दीमा उत्रेका हुन् ।’
अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रोकायाले तत्काल ताला खोलेर निर्वाचन हुन दिने माहोल सृजन गर्न आग्रह गरेका छन् । उनले यस्ता गतविधि नरोकिए अनेरास्ववियु प्रतिकारमा उत्रिने र त्यसको जिम्मा सम्बन्धित विद्यार्थी संगठन र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिए ।
त्रिभुवन विश्वविद्यालय अन्तरगत र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत ५ मा स्ववियु चुनावको मिति तोकिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत ८ मा निर्वाचन हुँदैछ । अधिकांस क्याम्पसहरुमा तालाबन्दीका कारण निर्वाचन नै प्रभावित हुने अवस्था छ ।
अनेरास्ववियूले जिल्लाका १६ वटै क्याम्पसमा उम्मेदवारी दिएको जनाएको छ । यस्तै पत्रकार सम्मेलनमा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा एमाले कञ्चनपुरका सह–ईन्चार्ज नरबहादुर धामीले विद्यार्थीहरुलाई निर्वाचन गर्न नदिनु दुखद् भएको बताए । उनले भने,‘पञ्चायतकालमा समेत क्याम्पसहरुमा विद्यार्थीहरुको निर्वाचन भएको ईतिहाँस छ, प्रसाशनले तत्काल यसको समाधान निकाल्नपर्छ ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.