शनिबार १६, बैशाख २०८० १०:४७ पवन जोशी
महेन्द्रनगर : सडक दुर्घटनामा घाइते प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमरबहादुर चन्दलाई नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रसाद साउँद(एनपी)ले भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुरको भ्रमणमा निस्केका मन्त्री साउँदले चन्दको निवासमै पुगेर उनलाई भेटेका हुन् ।
चन्दको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेको प्रेस युनियनका सुदूरपश्चिम प्रदेशका महासचिव हरिश भट्टले बताए ।
उनले भने, ‘विविध कामले मन्त्रीज्यु कञ्चनपुर आउनुभएको थियो, यसबिचमा युनियनका अध्यक्ष चन्दलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिईएको हो ।’
अध्यक्ष चन्द वैशाख १ गते सडक दुर्घटनामा परेर घाइते भएका थिए । महाकाली प्रादेशिक अस्पतालमा खुट्टाको शल्यक्रियापछि केही दिनअघि उनलाई डिस्चार्ज गरिएको थियो ।
उनको स्वास्थ्यमा उल्लेख सुधार भईरहेको र सामान्य अवस्थामा आउन ३ महिना लाग्ने डाँक्टरको भनाई रहेको पारिवारीक स्रोतले जनाएको छ ।
कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य समेत रहेका साउद परराष्ट्रमन्त्री नियुक्तपछि शनिबार गहृजिल्ला भ्रमणमा आएका हुन ।
उनले शनिबार कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित स्वामी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभालाई सम्बोधन गरेका थिए । त्यसपछि मन्त्री साउद नेपाली कांग्रेस जिल्ला कार्यसमिति (कञ्चनपुर)ले आयोजना गरेको बधाई तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए ।
आइतबार (भोलि) कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत शुक्लाफाँटाको झलारीमा अगुवा कार्यकर्तासँग भेट गर्ने मन्त्री साउदको कार्यक्रम तय भएको छ । उनी अढाई बजे धनगढीमा कैलालीका कांग्रेस कार्यकर्तासँग भेटघाट गरी राजधानी फर्किने छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.