बुधबार २०, बैशाख २०८० ०७:४९ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ३ बैबाह बस्ने रामलाल चौधरीको दैनिकी प्राय माटोसंगै खेलेर शुरु हुन्छ । बिगत १३ बर्षदेखि उहाँ व्यवसायीक तरकारी खेती गरिराख्नुभएको छ । किसानको छोरा भएपनि जग्गा कम भएका र आर्थिक रुपमा कमजोर रामलालको अहिले गाउँमै राम्रो कमाई हुनूका साथै जिवनस्तरमा समेत परिवर्तन आएको छ ।
डेढ बिगाह जग्गामा तरकारी खेतीसंगै धान र मक्कै समेत लगाउने गर्नुभएका उहाँले खर्च काटेर सरदर १० लाख बार्षिक आम्दानी गर्दै आएका छन् । उनले करेला, काउली, टमाटर, बन्दगोभी, खुर्सानी तथा तरकारी नहुने सिजनमा मक्कै र धान खेती गर्दै आएका छन् ।
घरमा खानका लागि तरकारी खेती लगाईराख्ने किसानहरुले व्यवसायीक तरकारी खेती गर्ने निर्णय गरे । शुरुवातमा गाउँका १५ जना किसान मिलेर प्रत्येकले ४/४ कट्टा जग्गामा खेती शुरुवात गरेका थिए । तीमध्ये ४/५ जनाले भने यो पेशा नै बनाए । जसमध्ये सबैभन्दा बढी जग्गामा खेती गर्ने व्यक्ति हुन्, रामलाल ।
४ कट्टा जग्गाबाट शुरु गरिएको खेतीलाई उहाँले बढाउँदै लगे, उनी ‘४ कट्टाबाट बढाउँदै अहिले घर छोडेर सबै जग्गामा तरकारी खेती शुरु गरेको हुँ, पछिल्लो ४ बर्ष यता बार्षिक करिब १३ लाख कमाउने गरेको छु ३ लाख जति खर्च हुन्छ, बढीजसो घरकै मान्छे काम गर्छौ ।’ २ छोराले आंशिक रुपमा र श्रीमती चम्फादेवीले पुर्ण रुपमा सघाउँदै आएका छन् ।
शुरुमा आफुले साईकलमा गाउँमा घुमेर उत्पादित तरकारी बेच्ने गरेको उनी बताए । ‘३ बर्ष जति तरकारी साईकिलमा बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामै धुमेर बेचे, पछि मोटरसाइकलमा पनि गाउँतिर नै बेच्थे । उनले भने, ‘जब ४ बर्ष पहिला १ बिगाहमा लगाउन शुरु गरे गाउँ वा खेतबाट खपत नहुने भएपछि भारत नजिक भएपनि त्यहाँ दररेट नपाईने हुँदा महेन्द्रनगरको मण्डीमा लग्ने गरेको छु ।’
४० बर्षिय रामलाल यस बर्ष अहिलेसम्म सबै मिलाएर ४०० कुण्टलबढी तरकारी बेचिसकेको बताउँछन् । ‘अहिलेसम्म ४०० कुण्टल बेचिसकेको छु, अहिले टमाटर, करेला र मक्कै मात्रै खेतमा छ । उनले भने, ‘मैले खासै बिषादी प्रयोग गर्दैन, मल पनि अर्गानिक नै प्रयोग गर्छु जसले गर्दा उत्पादन पनि राम्रो हुन्छ ।’
रामलालसंग अहिले १ पावर टिलर, १ मिनि टिलर, एक मोटरसाईकल र १ तरकारी बोक्ने ठुलो अटोरिक्सा छ । उहाँले गत २ आर्थिक बर्षमा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट पावर टिलरमा ९३ हजार र पावर टिलरमा ४५ हजार रुपैयाँ अनुदान पाउनुभएको छ जुन तिनिहरुमा पर्ने मुल्यको ५० प्रतिशत हो । यस आ.व. २०७९/८० मा भने ग्रिनेटमा ५० हजार अनुदान पाएको उनले बताए ।
रामलालले अब केरा खेतीपनि शुरु गर्ने सोच बनाएको बताए । उनले भने, ‘जग्गा भाडामा लिएर भएपनि अब केरा खेतीपनि शुरु गर्छु, ४ कट्टाबाट शुरु गर्ने सोच बनाएको छु ।’
उनीलगायत बेलडाँडी गाउँपालिका वडा नं. ३ कै कालुराम चौधरी, देशुराम चौधरी, रामकुमार चौधरी र छोटेलाल चौधरीले पनि ८/१० कट्टा जग्गामा तरकारी खेती गर्दै आएका छन् ।
आफुहरु व्यसायबाट सन्तुष्ट रहेको उनीहरुको भनाई छ । ‘धरै गर्न सकेका छैनौ खर्च कटाएर वार्षिक ३ लाख जति बच्छ सन्तुष्ट छौ ।’
देशुरामले भन्नुभयो, ‘बिदेश जानुभन्दा आफ्नो देशमै काम गरेर सम्मानसाथ परिवारसंग बस्न पाईएको छ ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.