भदौ २९ गतेदेखि विद्यालय सञ्चालन गर्नुहोस : बेलौरी नगरपालिका

सोमबार २१, भदौ २०७८ १०:३३    पश्चिमनेपाल न्यज डट कम



बेलौरी,  
कञ्चनपुरको बेलौरी नगरपालिकाले भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालनका नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ ।  बेलौरी नगरपालिका नगर शिक्षा समितिको आइतबार बसेको बैठकले विद्यालय सञ्चालन सम्बन्धी भए गरेका निर्णयहरू सहित परिपत्र गरेको हो । बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले भने ‘हामीले विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड सहित नगरपलिकाले गरेका निर्णय सहित परिपत्र गरेका छौ ।’ 
बेलौरी नगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका संयोजक पोतिलाल चौधरीको संयोजकत्वमा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले ७ वटा विकल्प सहित भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको छ । 
सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने वा अलग–अलग समय (सिफ्ट) मा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने वा विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि (घण्टी) छोट्याउने वा अवस्था हेरी तल्लो कक्षालाई पहिले अथवा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले (जोखिम र सहजतालाई हेरी) कक्षा सुरु गर्ने वा कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन गर्ने वा कक्षाका केही विद्यार्थी कुनै दिन अथवा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने वा हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन कक्षा सञ्चालन गर्ने विकल्प विद्यालयहरूलाई दिइएको छ । 
सम्बन्धित विद्यालयहरूले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) को बैठकमा छलफल गरी उपयुक्त ढाँचा छनौट गरी विद्यालय सञ्चालन गर्ने गराउने भनी विद्यालयहरूलाई निर्देशन दिइएको र यही भदौ २८ गतेभित्र सम्बन्धित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) ले छनौट गरेको विकल्प सहित व्यवस्थापन समितिको निर्णय नगरपालिका कार्यालयमा पेस गर्न भनिएको छ । 
विद्यालयले छनौट गरेको ढाँचा अनुसार पठनपाठन कार्य सञ्चालन गरे नगरेको र जनस्वास्थ्यमा मापदण्डहरू पालना गरे नगरेको नगरपालिकाबाट समय–समयमा अनुगमन गरी जनस्वास्थ्यका मापदण्डको पालना नभएको अवस्था देखिएमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुन सक्ने समेत नगरपालिकाले जनाएको छ ।

 



प्रतिकृया दिनुहोस