लडाउनमा शुक्लाफाँटा अवैध कार्य बढ्यो

दण्ड जरीवाना बिगतभन्दा दोब्बर

सोमबार २१, भदौ २०७८ १०:४६    पश्चिमनेपाल न्यज डट कम



महेन्द्रनगर,

विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि २०७६ चैत दोस्रो सातादेखि लकडाउन सुरु भयो । लकडाउनले गर्दा माहोल सुनसान बन्यो । केहि समयपछि परिस्थिती सहज नहुँदै गतबर्ष अर्थात ०७७ मा कोरोनाको दोस्रो भेरियन्ट भित्रियो । फेरि माहोल उस्तै, सबै ‘कैदी’ झैं भएर बस्न बाध्य भए । 

तर त्यहि मौका छोपेर कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने अवैध क्रियाकलाप गर्ने भने निकै सलवलाए । जसका कारण शुक्लाफाँटा चोरी शिकारी र काठ तस्करीको ‘अखाडा’ नै बन्यो । यस अवधीमा निकुञ्जसंग जोडिएको मध्यवर्ती क्षेत्र र अन्यत्रबाट अनाधिकृत रुपमा प्रवेश गरी अवान्छित क्रियाकलाप गर्नेको संख्या ह्वात्तै बढ्नु त्यसको प्रमाण हो ।

निकुञ्जको तथ्याकं अनुसार कोरोना अवधीमा अनाधिकृत प्रवेश बढेको छ । निकुञ्जका  सहायक संरक्षण अधिकृत रविन चौधरीले निकुञ्जभित्र अनुमती विना प्रवेश गर्नेको संख्या बढेको बताउँदै भने, ‘तथ्याकंगत रुपमा तुलना गर्दा निकुञ्जभित्र अनाधिकृत क्रियाकलाप बढेको देखिन्छ । तर यस अवधिमा यस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनको दायरामा पनि ल्याएका  छौं ।’

गत आर्थिक बर्षमा तीन हजार सात सय ९२ जना विभिन्न अवैध कार्यमा संलग्नलाई निकुञ्जले पक्राउ गरेको छ । गत बर्ष ४१ मुद्दा दर्ता भएका छन् । यो अघिल्लो आव भन्दा निकै बढी हो । ०७६/०७७ मा सात मुद्दा मात्रै दर्ता भएको निकुञ्जको तथ्याकंमा उल्लेख छ ।

‘पहिलो लकडाउनको सिकाइपछि सुरक्षागस्तीमा थप कडाई ग¥यौं ।’ निकुञ्जका  सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘जसको प्रतिफल गत बर्ष देखियो ।’ दर्ता भएका मुद्दाको फैसला हुन भने बाँकी छ । गत साउनमा चोरी शिकारीका दुई मुद्दा दर्ता भएका छन् । यी मुद्दा काठ चोरीतस्करी र वन्यजन्तुको चोरीशिकारीका हुन् । वन्यजन्तुमा चित्तल, बदेल लगायतका वन्यजन्तु रहेका छन् ।

मुद्दा दर्ता बढे संगै निकुञ्जको राजस्वमा पनि बृद्धि भएको छ । ०७६/०७७ मा २४ लाख ६० हजार एक सय ८९ रुपैया राजस्व संकलन भएको थियो । गत आवमा राजस्व दोब्बर बढेको छ । ०७७/०७८ मा ५२ लाख ३७ हजार नौ सय ३६ रुपैंया राजस्व उठेको तथ्याकंमा छ । ०७५/०७६ मा भने नौ लाख १२ हजार एक सय ७४ रुपैया मात्रै राजस्व संकलन भएको थियो । तथ्याकंलाई हेर्दा कोरोना संक्रमणपछि अवैध प्रवेश बढ्दा निकुञ्जको राजस्व बढेको स्पष्ट हुन्छ । माथि उल्लेखित राजस्व दण्ड जरीवानाबाट संकलित मात्रै हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत चौधरीले लकडाउनलाई मध्यनजर गरी चोरीशिकारी लगायतका गलत क्रियाकलाप रोकथाम गर्न गस्ती परिचालन गरिएको बताए, ‘नियमित भन्दा थप गस्ती परिचालन गरिएको छ । जसको उदाहरण यस अवधिमा पक्राउ परेकाहरुको संख्याले देखाउँछ ।’ निकुञ्जका कर्मचारीसंगै सुरक्षार्थ तैनाथ नेपाली सेनाको देवि दल गणले यस दौरान रोकथाम गर्न नियमित गस्ती गरेको थियो ।

लकडाउनमा यतिको संख्यामा पक्राउ परे भने लुकिछिपि त्यस्ता क्रियाकलाप गर्ने पनि पक्कै हुनेमा दुई मत छैन् । तसर्थ लकडाउनमा निकुञ्ज अखाडा नै बनेको स्पष्ट हुन्छ ।

वि.सं. २०२६ सालमा शिकार आरक्षका रुपमा संरक्षण गरिएको यो निकुञ्जको १५५ वर्ग किलोमिटर क्षेत्रफललाई वि.सं. २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो । त्यसको चार बर्षपछि वि.सं २०३६ सालमा आरक्षको पूर्वतर्फ १५० वर्ग किलोमिटर क्षेत्रफल विस्तार गरि यसको कुल क्षेत्रफल ३०५ वर्ग किलोमिटर पु¥याईएको हो ।  

पूर्वमा स्याली नदि, पश्चिममा महाकाली नदी, उत्तरमा चुरे पहाडसंगै डडेल्धुरा जिल्लासंग जोडिएको शुक्लाफाँटा दक्षिणमा सीमावर्ती देश भारतको दुधुवा राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ । यसको हेडक्वाटर सदरमुकाम महेन्द्रनगरदेखि पाँच किलोमिटर पश्चिम दक्षिण मझगाँउमा रहेको छ ।

क्षेत्रफलका आधारमा थोरै क्षेत्रफलमा धेरै पाटे बाघ । विश्वकै दुर्लभ बाह्रसिंगाको ठुलो झुण्ड । स्थानान्तरणपछि फष्टाउँदै एक सिंङ्गे गैंडा र अति संकटापन्न कृष्णसार । मौषमी हात्तीको लस्कर यसको प्रमुख पहिचान हो । तर वन्यजन्तु र स्थानियबीचको संघर्ष भने अझैं चलि नै रहेको छ ।



प्रतिकृया दिनुहोस