सिद्धनाथ मंदिरको घण्टी बिक्रि प्रकरण

समितिले बिक्रि गरेपछि व्यापारीकाेमा पुगेको खुलासा

आइतबार १०, असोज २०७८ ०९:११    पवन जोशी



समितिले बिक्रि गरेपछि व्यापारीकाेमा पुगेको खुलासा

पवन जोशी : शनिबार कञ्चनपुर प्रहरीले छ कुण्टल ६१ किलो पुराना घण्टी राखिएको एउटा गोदाम र त्यहाँ काम गर्ने दुई जनालाई नियन्त्रणमा लियो ।

नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त घण्टीहरु महेन्द्रनगर स्थित सिद्धनाथ मंदिरको भएको पुष्टी समेत भएको छ । नियन्त्रणमा रहेका दुबै जनालाई प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको छ । 
उक्त घण्टी सिद्धनाथ मंदिर विकास समितिले बेचेको र व्यापारी गुड्डु अन्सारीले किनेको बुझिन आएको छ । पछि व्यापारी गुड्डु अन्सारीबाट गल्लि नं. १ मा भाँडावर्तनको व्यवसाय गर्दै आईरहेका ठकुराठी ब्रदर्स तथा भाँडा बर्तन स्टोरका सञ्चालक पदम ठकुराठीले खरिद गरेर गोदाममा राखेको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि सिद्धराज न्याैपानेले जानकारी दिएका छन् । न्यौपानेले भने, ‘मंदिरले बिक्रि गरेको रहेछ, त्यहाँ भेटीएका दुई जनालाई सोधपुछ गरेर छोडेका छौ, अनुसन्धान जारी छ ।’

समितिको निर्णय बमोजिम बिक्रि गरिएको हो : सचिव उप्रेती
सिद्धनाथ मंदिर विकास समितिको घण्टी समितिले आधिकारीक निर्णय गरेर कानुन बमोजिम बेचिएको विकास समितिका सचिव पुस्करराज उप्रतीले बताएका छन् । समितिले साना र पुराना घण्टीहरु बचेर ठुलो घण्टी ल्याउने निर्णय गरेसंगै घण्टीहरु बेचिएको उनले बताएका हुन् ।
बिगतमा पनि यसरी साना घण्टीहरु बेचेर ठुला घण्टीहरु ल्याईएको सचिव उप्रेतिले बताएका छन् । उनले भने, ‘समितिले निर्णय गरेपछि कोटेसन आह्वान गरेर घण्टी बिक्रि गरिएको हो, यसमा कसैले शंका गर्नुपर्ने ठाउा छैन ।’ समितिले २०७७ पुस १५ गते सम्पन्न साधारण सभाले साना घण्टीहरु बेचेर नयाँ ल्याउने निर्णय गरेको थियो ।

यसै गरि २०७८  श्रावण २, २०७८ असोज २ मा समेत समितिले निर्णय गरेको थियो । घण्टीहरु बचेको तिन लाख ६६ हजार चार सय दश रुपैयाँ समितिको खातामा ग्राहकले नै जम्मा गरेको प्रेतीले बताए । 
समितिले पुराना खालका घण्टीहरु प्रतिकिलो छ सय रुपैयाँ र टुटफुट भएका तथा अन्य पुराना घण्टीहरु प्रतिकिलो पाँच सय रुपैयाँका दरले बिक्री गरिएको उप्रेतिले बताएका छन् । उनले भने, ‘हामीले कोटेसन माग गरेर बिक्रि गरेका हौं, तिन फर्मको कोटेसन परेको थियो र गुड्डु अन्सारीको नाममा कोटेसन परेपछि उसलाई बेचिएको हो, पछि उसले कहाँ बेच्यो त्यो हामिलाई सरोकारको बिषय भएन ।’

गुड्डु अन्सारीबाट खरिद गरिएको हो : व्यापारी ठकुराठी
घण्टी खरिद गरेका व्यपारी ठकुराठी ब्रदर्स तथा बर्तन स्टोरका सञ्चालक पदम ठकुराठीले आफुले व्यापारीबाट घण्टी खरिद गरेको बताएका छन् । उनले आफुले गुड्डु अन्सारीबाट उक्त घण्टीहरु खरिद गरेको बताएका हुन् । उनले भने, ‘ म व्यापारी हो मैले गुड्डु अन्सारीबाट सामान खरिद गरेको हो उनले सिद्धनाथ मंदिर समितिबाट खरिद गरेका रहेछन् , मैले त अन्सारीबाट खरिद गरेको हो ।’
गोदाममा छापा हानिएको हो, अनुसन्धान जारी छ : न्यौपाने
प्रहरीले सुचना पाएपछि काम शुरु गरेर छापा हानेको कञ्चनपुर प्रहरीले जनाएको छ । छापा हानेर सोधपुछका क्रममा दूई जनालाई केही समय नियन्त्रणमा लिईएको थियो ।

सबै कुरा बुझ्दै जाँदा व्यापारीको कमजोरी नदेखिएका कारण ठकुराठी ब्रदर्सका कर्मचारीलाई छोडिएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब निरक्षक 
(डिएसपि)सिद्धराज न्यौपानेका अनुसार व्यवपारी भन्दापनि मन्दिर विकास समितिले घण्टी बिक्रि गरेको पाईएको अनुसन्धान त्यतातिर मोडिएको छ । उनले भने, ‘हामिले गहन अध्ययन गर्दै छौ, मंदिरको घण्टी निर्णय गरेर समितिले बेच्न पाउने तथा नपाउने बारे खासै कानुनमा स्पष्ट भएको पाईएन ।’ उनले थपे, ‘हामि अनुसन्धानको क्रममा छौ दोषि देखिएमा कारवाहीको दायरामा ल्याउँछौ ।’



प्रतिकृया दिनुहोस