सोमबार ११, असोज २०७८ १०:३५ पवन जोशी
पवन जोशी/महेन्द्रनगर : सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष हिक्मत सिंह भण्डारीले ठुला घण्टी र मुर्ती ल्याउन पुराना घण्टीहरु बेचिएको बताएका छन् । मन्दिर परिसरभित्र रहेका साना घण्टीहरुको बिक्री गरि सोही रकम बराबरका आकर्षक एवं मन्दिरको सोभा बढाउने खालका मुर्ति तथा ठुला घण्टी ल्याउन घण्टीहरुको बिक्री गरिएको अध्यक्ष भण्डारीले बताएका छन् । उनले भने, ‘मन्दिरको सजावट बढाउन पुराना घाँट घण्टी बिक्रि गरि नयाँ किन्ने निर्णय मन्दिरको हितमा भएकोले साधारणसभाले नै निर्णय गरेपछि बिक्रि गरिएको हो, जसलाई हाम्रो विद्यानले समेत स्विकार गर्दछ ।’ उनले थपे, ‘बाहिर प्रचार गरिएजस्तो अपवित्र उदेश्यका साथ कुनै काम गरिएको छैन, विगतमा पनि यसरी ल्याईएका मुर्तिहरु मन्दिर परिसरमै छन् ।’
यसैबिच सिद्धनाथ मंदिर समितिले एक विज्ञप्ती प्रकाशित गर्दै घण्टी बिक्री प्रकरणमा आफ्नो स्पष्टीकरण दिएको छ । आईतबार साँझ विज्ञप्ती प्रकाशित गर्दै समितिले आफ्नो स्पष्टीकरण प्रस्तुत गरेको हो । यस अघि आईतबार नै विहान समितिले पत्रकार सम्मेलन समेत गरेको थियो ।
विगतका समितिहरुले पनि यस्तै प्रक्रिया अपनाई ल्याईएका घण्टी र मुर्तीहरु मन्दिरमा रहेको र यस बर्षको आम्दानीबाट समेत मुर्ति र ठुला घण्टी ल्याईने समितिले जनाएको छ । ‘मन्दिर विकास समितिको दर्ता विधान छ विधानको दफा २६ मा मन्दिर विकास समिति एक स्वशासित समिति हुनेछ ।’ समितिले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरि समितिले मन्दिरको हितमा सम्पत्ति जोड्न सक्ने तथा लिलाम बिक्री हुनसक्ने चल–अचल सम्पत्ति लिलाम बिक्री गर्न सक्ने समेत जनाएको छ । ‘विगतका दिनमा समेत समितिले बिक्री गर्ने ट्रेन्ड रहेको र मन्दिर परिसरभित्र मौजुद रहेका, पुराना टुटफुट, स–साना घाँट–घन्टीहरु लिलाम प्रक्रियाद्वारा बिक्री वितरण गर्ने सो बिक्री रकमबाट मन्दिर परिसर भित्रै ठूलठुला घाँटहरु राख्ने, मूर्तिहरु राख्ने र मन्दिर कै आकर्षण बढाउन सुधार विकास गर्ने गरेकोले यसपूर्वका वर्षमा पनि यसरी स–साना टुटेफुटेका, काला परेका, काम नलाग्ने खालका साना ठूला घाँट घन्टीहरु साधारण सभा र समितिकै निर्णय अनुसार बिक्री वितरण गरी ठूला ठूला घाँटहरु राखिएका छन् ।’ प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
समितिले आफ्नो २०७७ पुस १५ गतेको साधारणसभाको निर्णयलाई कार्यान्वयन मात्र गरेको जनाएको छ । यसैगरि समितिले घाँट घन्टी बिक्री रकम हिनामिना गर्ने खालको गलत धारणा नभई मन्दिरको विकासकै लागि भएकोले अनरगल किसिमले प्रचार नगरिदिन आग्रह गरेको छ ।
चरित्र हत्या गरियो : व्यापारी ठकुराठी
महेन्द्रनगरको गल्ली नं. १ मा रहेको ठकुराठी ब्रदर्सका सञ्चालक पदम ठकुराठीले आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । आफु व्यापारी भएको र सामान खरिद बिक्रि गर्ने अधिकार रहेको भन्दै आफुमाथी चोरीको घण्टी किनेकोे आरोप लगाएर चरित्र हत्या गरिएको बताएका हुन् । उनले भने, ‘मैले मन्दिरबाट किनेको पनि होईन, गुड्डु अन्सारीले किनेको रहेछ, उसले मलाई बेच्न खोज्यो दररेटमा कुरा मिलेपछि खरिद गरे यसमा मेरो के गल्ती... ?’
प्रहरीले अनाहकमा छापा हान्यो र अरुले प्रचारबाजी गरेर चोरीको सामान किनेको बनाएर सामाजिक रुपमा बद्नाम गर्न खोजिएको भन्दै भ्रममा नपर्न ठकुराठीले सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘म ईमानदार व्यापारी हुँ, सामान बेच्न ल्याएपछि बुझेर समितिले बेचेको हो भन्ने प्रमाणित भएपछि किनेको हु, चोरीको सामान भएको भए म किन्ने थिएन, त्यसैले अनाहकका हल्लाका पछि नलाग्न म सबैमा आग्रह गर्दछु ।’
कुनै कानुन आकर्षित हुने देखिएन : डिएसपी न्यौपाने
सिद्धनाथ मन्दिर विकास समितिको घण्टी खरिद बिक्री प्रकरणमा हालसम्म अनुसन्धान जारी रहेको तर कुनै कानुन आकर्षित हुने नदेखिएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपि सिद्धराज न्यौपानेले बताएका छन् । उनले भने, ‘समितिले साधारण सभाबाट नै निर्णय गरेर बेचेको देखिएको छ, यसमा हालसम्म आकर्षित हुने कानुन भटिएको छैन, अनुसन्धान जारी छ ।’
प्रहरीले शुरुमा गल्ली नं. १ मा रहेको ठकुराठी ब्रदर्समा छापा हानेर सोधपुछका क्रममा दूई जनालाई केही समय नियन्त्रणमा लिईएको थियो । सबै कुरा बुझ्दै जाँदा व्यापारीको कमजोरी नदेखिएका कारण ठकुराठी ब्रदर्सका कर्मचारीलाई छोडिएको प्रहरीले जनाएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.