नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त

बिहिबार २४, बैशाख २०८३ २२:३६    पश्चिम नेपाल संवाददाता



awqq-677x430.jpg

महेन्द्रनगरः कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त भएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि रिहा गरिएको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी रहे पनि हालसम्म उपलब्ध प्रमाणका आधारमा नाथलाई निरन्तर हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको बताए।

गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको आरोप लगाउँदै उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी थिइन्। हरिकिसन राना २०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गरे पनि घटनाको वास्तविकता खुल्न नसकेको जनाएको छ। घटनाको एक वर्षपछि फिर्या रानाले दिएको जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपाध्यक्ष नाथ पक्राउ परेकी थिइन्।

 

जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका प्रमुख प्रकाश भण्डारीले अनुसन्धानका क्रममा संलग्न कागजात र बयानबाट नाथ तत्काल दोषी देखिने अवस्था नरहेको बताए।

उनले भने, “घटनाको एक वर्ष लगाएर अनुसन्धान गरिएको थियो। मिसिल संलग्न कागजात र बयानबाट दोषी नदेखिएकाले हिरासतमा राखिराख्नु आवश्यक देखिएन।”

प्रहरी उपरीक्षक खत्रीले भने नाथलाई हिरासत बाहिर राखेर पनि अनुसन्धान प्रक्रिया निरन्तर अघि बढाइने जानकारी दिए। उनका अनुसार हरिकिसन रानाको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।

यसैबीच प्रतिनिधिसभा सदस्य कृपाराम रानासहित रानाथारु समुदायका अगुवाहरूले घटनाको अनुसन्धानमा चरम लापरवाही भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी मदन कोइरालामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।



प्रतिकृया दिनुहोस