ज्याला नदिई ठेकेदार भागेपछि अलपत्र

सोमबार १३, असोज २०८२ २३:५२    Paschim Nepal News



jyala.jpg

कञ्चनपुर : उनी राम्ररी बोल्न सक्दैनन् । अरूले बोलेको पनि सुन्न सक्दैनन् । घर परिवार आफन्तबारे धेरै कुरा जानकारी पनि छैन । न त घरसम्म जाने बाटो थाहा छ, न घर पुग्ने पैसा नै । रुकुम बाँफिकोटका ७० वर्षीय टेमकबहादुर चन्द सोमबार महेन्द्रनगर बसपार्कमा यस्तै अवस्थामा भेटिए ।‍

भारत हिमाञ्चलको सिमलाको रुडु भन्ने ठाउँमा स्याउबारीमा काम गर्ने उनी ठेकेदार भागेपछि अलपत्र अवस्थामा महेन्द्रनगर पुगेका हुन् । ‘छ महिनाको ज्यालाको हिसाब गर्‍यो, त्यसपछि ठेकेदार फरार भयो,’ चन्दले भने, ‘त्यसपछि कहाँ जाने के गर्ने भन्ने भयो,कतै हिँडेर त कतै गाडीमा गरेर यहाँसम्म पुगे ।’

चन्द आइतबार सीमावर्ती भारतीय बजार टनकपुर पुगेका थिए । खाने र बास बस्ने पैसा नभएपछि धर्मशालामा बसेका हुन् । सोमबार बिहानै हिँडेर महेन्द्रनगर पुगेका हुन् । महेन्द्रनगर बसपार्कमा प्रहरीको सम्पर्कमा आएका उनलाई सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने आर्थिक सहयोग गरेर पठाएको छ ।

बाल्यकालमै रोजगारीको खोजीमा भारत पसेका चन्दको आफ्नै पीडा छ । ११ वर्षमा भारत पसेपछि उनी पहिलो पटक घर फर्किरहेका हुन् । रुकुमको बाँफिकोट घर हो भन्ने मात्रै थाहा छ तर जाने बाटो पनि उनलाई राम्ररी सम्झना छैन ।

‘नेपालगन्जबाट बस चढेर रुकुम पुग्नसके म घर पत्ता लगाइहाल्छु,’ चन्दले भने, ‘आमाबुबा पहिल्यै बितेका हुन्, घरमा अरू कोही छैन ।’ उनले नेपालगन्जमा काकाको छोरा बस्छ भन्ने सुनेका छन्, तर घर ठेगाना थाहा छैन ।

‘मामाको घर जाने सोचेको छु, तर मामा छन् कि छैनन्, दाइभाइहरू पनि को कहाँ छन्, केही थाहा छैन,’ उनले भने, ‘मेरो घरमा त कोही थिएनन्, अरू आफन्तले पनि चिन्छन् कि चिन्दैनन् ।’ ७ वर्षको उमेरमै आमाबुबाको मृत्युपछि आफू भारततिर गएको उनले बताए ।

भारतका विभिन्न ठाउँ पुगेर पछिल्लो पटक तीन वर्षदेखि उनी सिमलामा काम गरिरहेका थिए । भारतमै विवाह पनि गरे । श्रीमती पार्वतीको तीन महिनाअघि मृत्यु भएको उनले बताए । क्रसरमा काम गर्ने बेला ढुंगा लागेर मृत्यु भएको उनले बताए । छोराछोरी केही छैन ।

‘बुढेसकालमा आफ्नै गाउँ जाउँ भनेर घर निस्केको,ठेकेदारले धोका दिएर अलपत्र परेँ,’ उनले भने, ‘ठेकेदार पनि हाम्रै नेपाली हो, बागलुङको लालबहादुर भन्ने मान्छे हो ।’ उनका अनुसार ठेकेदारले राशनको सबै हिसाब गरेर एकरदुई दिनमा पैसा दिने भनेको थियो । तर भोलिपल्ट भागेर सम्पर्कमै नआएको उनले बताए ।

भारतमा रोजगारीका लागि गएका धेरै नेपाली ज्याला नपाएर अलपत्र पर्ने गरेका छन् । नेपालीलाई काममा लगाउने ठेकेदारहरू ज्याला नदिएर भाग्ने गरेका घटना नियमित दोहोरिने गरेका छन् । यस वर्ष मात्रै यसरी ठेकेदारबाट ठगिएका ३ जना नेपाली कामदार आएको नागरिक सहायता केन्द्रका कर्मचारी दानसिंह बोहोराले बताए ।



प्रतिकृया दिनुहोस