बुधबार १५, असोज २०८२ १४:४७ Paschim Nepal News
धनगढीः नेपालीहरूले हर्षोल्लासको साथमा मनाउने दुई पर्व हुन्, दशैँ र तिहार। दशैँ लगत्तै हाम्रो घर आँगनमा तिहार आउने गर्छ। पारिवारिक मिलनको चाडको रुपमा लिइने दशैँमा नवरात्रको नौ दिनसम्म देवी–देवताको पूजापाठ गरिन्छ भने सबैभन्दा आकर्षक र महत्वपूर्ण दशमीको दिनलाई मानिन्छ। यो दिन घटस्थापनाको दिन विधि विधान पूर्वक राखिएको जमरा काटिन्छ र आफ्नो मान्यजनको हातबाट टिका जमराको साथमा आर्शिवाद ग्रहण गरिन्छ।
दशैंमा रोजगारीको कारण वर्षदिनसम्म घरबाहिर रहेका व्यक्तिहरू सकेसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न आफ्नो घर पुग्ने गर्छन्। आफ्नो घरमा मात्रै होइन मान्यजनको हातबाट टिका र आर्शिवाद ग्रहण गर्न आफन्तकोमा जाने चलन रहिआएको छ। यो क्रम पूर्णिमासम्म चल्ने गर्छ।
यस्तो छ बिरुडा, जमरा र चिउराको महत्त्व
दशैंमा मान्यजनहरूले टिका लगाईदिँदा निधार भरी रातो अक्षता सँगै जौं, मकै, धान र गँहूका लामा पँहेला जमरा लगाइदिने चलन छ। निधारमा टीका र घाँटीमा जमराको माला लगाउनु दशैं मनाएको संकेत गर्छ। जमरा कानमा या टोपीमा घुसार्ने चलन छ भने महिलाले चुल्ठोमा जमरा सिउरिन्छन्।
ढाकाटोपी लगाएको पुरुषले निधारमा रातो टिका लगाएको, ढाकाटोपीमा जमरा सिउरिएको र महिलाले चुल्ठोमा जमरा राखेर पिङ मच्चाउँदै गरेका तस्वीरहरु दशैंका मानक तस्बिरहरू हुन्।
दशैं मात्र त्यस्तो पर्व हो जहाँ टीका र जमरा लगाइसकेपछि पारिवारिक तस्वीर खिच्ने अवसर मिल्छ। दशैं नै एक्लो पर्व हो जसले परिवारका सबै सदस्यहरूलाई एकै आँगनमा रम्ने र एकै चुल्होमा खाना खाने अवसर प्रदान गर्छ।
सुदूरपश्चिममा गौराको बिरुडा, दशैंको जमरा र तिहारको चिउराको ठूलो महत्त्व छ। बिरुडा, जमरा र तिहारको भाइटीकाको दिन कुटेको चिउरालाई प्रशादकै रुपमा ग्रहण गर्ने गरिन्छ। आफन्त र परिवारमा बिरुडा, जमरा र चिउरा दिँदै आशिर्वाद दिने गरिन्छ।
गौरामा बिरुडा, तिहारमा चिउरा र दशैंमा जमराले सुदूरपश्चिममा धार्मीक आस्था र साँस्कृतिक महत्वलाई झल्काउँछ। अरुबेलामा टीका लगाइदिँदा विभिन्न किसिमका मौसमी फूलहरुको प्रयोग गरिए पनि दशैंमा जमरा, गौरामा बिरुडा र तिहारमा चिउरा अनिवार्य हुनुपर्छ।
यस्तो छ जमराको महत्व
धार्मिक, सामाजिक, साँस्कृतिक एवम् स्वास्थ्यको दृष्टिले पनि जमराको धेरै ठूलो महत्व छ । दुर्गा भगवतीलाई मनपर्ने भएकाले जमराको रुपमा जौंको प्रयोग गरिन्छ। जौलाई पवित्र र जेठो अन्नका रुपमा सम्मान गरिन्छ।
जौं पोषणयुक्त अनाज हो भने यसमा शरीलाई फाइदा गर्ने पोषकतत्त्व हुन्छन्। हरेक पूजापाठ र हवन लगायतका धार्मिक कार्यमा जौं अनिवार्य हुन्छ। त्यसैले दुर्गा मातालाई मनपर्ने भएकाले जौंको अङ्कुरलाई विजयादशमीको प्रसादको रुपमा प्रयोगमा ल्याइएको हुनसक्ने ज्योतिषहरूले बताएका छन्। जौंलाई स्वास्थ्यको दृष्टिले धेरै पौष्टिक अनाज मानिन्छ। पौराणिक ग्रन्थमा जौलाई अन्नको राजामा मानिएको छ। आयुर्वेदिक उपचारमा पनि जौंको अंकुरबाट गर्न सकिने विभिन्न उपचारको बारेमा वर्णन गरिएको छ।
आयुर्वेद चिकित्सकहरुले उच्च रक्तचाप, क्यान्सर एवम् डायविटिज जस्ता रोगहरुका बिरामीले सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा हुने बताएका छन्।
जमराको जुसको सेवनले पेट, आन्द्रा, हाडजोर्नी एवम् अन्य रोगहरुलाई समेत फाइदा पुग्ने बताइएको छ।
यस्तो छ जमरा राख्ने विधि
विजयादशमीको दिनमा मान्यजनले टिकासँगै लगाइदिने जमरा घटस्थापनाको दिन राख्ने चलन छ। अश्विन शुक्ल प्रतिपदाको दिनमा पर्ने नवरात्रको पहिलो दिन घटस्थापना गरी दशैंघर, मन्दिर र आ–आफ्नो घरमा हरेकले जमरा राख्ने गर्छन। घटस्थापनाको दिन वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरिन्छ। बिहानै नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याइ गोबरले लिपपोत गरेको पूजाकोठा वा दशैंघरमा माटो राखेर विधिपूर्वक घटस्थापना राखिन्छ । पूजास्थानको बीचमा एक विशेष घट अर्थात कलशको स्थापना गरिन्छ।
कलशमा वरुणादी सम्पूर्ण देवी देवताको आहृवान गरिन्छ। साथै उक्त कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले पूजा गरिन्छ। पूजापछि उक्त घट वरिपरि राखिएको माटो वा वालुवामा जमराको लागि जौ छरिन्छ। कतैकतै धान, गहूँ र मकै जस्ता अन्न मिसाएर छर्ने चलन छ। यसरी राखिएको जौ लगाएत अन्य अन्नहरु अंकुराएर बढ्दै जमराको रुपमा परिणत हुन्छन् । जमरा पँहेलो होस भन्नको लागि जमरा राखिएको छरेको कोठामा घामको प्रकाश पर्न दिँइदैन। जमरा राखिएको स्थानलाई कपडा या पातले छोपेर राख्ने गरिन्छ।
जमरामा राम्रो होस भनेर दैनिक पानी हालिन्छ। जमरा जति लामो र पँहेलो हुन्छ दुर्गा भगवती त्यति नै प्रसन्न भएको विश्वास गरिन्छ। जमरा राखेको मन्दिर, दशैँघर र अन्य घरमा नवरात्रभर नित्य भगवती दुर्गाको नौ स्वरुपको पूजा घडामा गरिन्छ। दुर्गा भवानीको नौ स्वरुप भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ।
यसै गरि नवरात्रका विशेष दिन महासप्तमी महाअष्टमी र महानवमीको दिन क्रमश महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ। मातृशक्तिको आराधना गर्दै अंकुराएको जमरा विजया दशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरेपछि मात्रै टिकामा प्रसाद स्वरुप लगाउने गरिन्छ। मान्दिरहरूमा भने सप्तमी, महाअष्टमी र महानावमीको दिनमा पनि देवीलाई जमरा चढाउने गरिन्छ। दशमीको दिन काटिएको जमरा सबैले प्रशादको रुपमा ग्रहण गर्छन्।
नवरात्रमै लाग्छन् मेला र जाँत
सुदूरपश्चिमका शक्तिपीठहरूमा नवरात्रको समयमा ठूलो मेला र जाँत हुने गर्छ। यहाँका देवी मन्दिरहरूमा महाअष्टमी, महानववी र विजया दशमीको दिन मेला र जाँत हुने गर्छ। कुनै कुनै शक्तिपीठमा पूर्णिमाको दिनसमेत मेला लाग्ने गर्छ।
बैतडीको निङ्गलाशैनी, पुर्चौडी–९ को डिलाशैनीमा महाष्टमीको दिन मेला लाग्छ भने विजया दशमीको दिन पुर्चौडी–८ को डिलाशैनी मन्दिरको जाँत हुन्छ। डोटीको निरौलीमा पनि दशमीको दिन निरौलीको जाँत हुन्छ। अछाम जिल्लाका शक्तिपीठहरूमा महाष्टमी, महानवमी र पूर्णिमाको दिन मेला लाग्छ। नवरात्रभर देवी मन्दिरमा मात्रै होइन देवताहरूका मन्दिरमा पनि पुजापाठ र जाँत हुने गर्छ। आश्विन दुर्गापक्षदेखि मंसिरसम्म सुदूरपश्चिमका मन्दिरहरूमा देवी–देवताको पूजापाठ गर्ने र जाँत बनाउने गरिन्छ।
दशैँ सुरू भएसँगै सुदूरपश्चिममा सबै जिल्लामा आफ्ना इष्टकुल देवताको पूजा सुरू हुन्छ। दुर्गा पक्षसँगै सुरू हुने देव पूजनमा आफ्ना इष्टकुल देवतामा गरिएको भाकलअनुसारको ुचढौनी र स्याु गर्ने गरिन्छ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.