बिहिबार ०६, चैत २०८१ १२:३९ Paschim Nepal News
महेन्द्रनगरः त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिमका २४ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैभन्दा बढी नेतृत्व नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जितेको छ ।
सुदूरपश्चिमका ६ जिल्लामध्ये कैलालीका ९, कञ्चनपुरका ६, बझाङ र बैतडीका ३-३, डोटीका २ र डडेल्धुराको १ क्याम्पसमध्ये १३ वटामा नेविसंघ एक्लैले र २ वटामा नेविसंघ नेतृत्वकै संयुक्त प्यानलले अध्यक्ष पद जितेको हो ।
बाँकी क्याम्पसमध्ये माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ६, एमालेको अनेरास्ववियुले २ र एकीकृत समाजवादीको अनेरास्ववियूले १ कलेजमा अध्यक्ष पद जितेका छन् ।
कञ्चनपुरः कञ्चनपुरका ६ कलेजमध्ये ४ वटामा नेविसंघ र २ वटामा अखिल क्रान्तिकारीले अध्यक्ष पद जितेका छन् । जसअनुसार पुनर्वासको जनता बहुमुखी क्याम्पसमा नेविसंघका विकास खड्का प्यानलसहित विजयी भएका छन् । सचिवमा एकेन्द्रसिंह ठकुरी, कोषाध्यक्षमा जानकी कुमारी उपाध्याय र सदस्यहरूमा पूजा विष्ट, सरिता ऐरी, करुणा लुहागन् निर्वाचित भएका छन् ।
बेलडाँडीको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा पनि नेविसंघ प्यानलसहित विजयी भएको छ । नेविसंघका मोहन जैसी ६२ मतसहित अध्यक्षमा विजयी भएका हुन् । यस्तै सचिवमा विनिता साउद, कोषाध्यक्षमा शर्मिला जोशी र सदस्यहरूमा नरेन्द्र उपाध्याय, रामबहादुर दमाईं र धनु उपाध्याय निर्वाचित भएका छन् । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा १२१ मतदाता रहेकामा ९४ विद्यार्थीले मात्र मतदान गरेका थिए ।
बेलौरी नगरपालिका–८ कलकत्ताको रामपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित भइन् । अन्य पदाधिकारी र सदस्यमा अखिल क्रान्तिकारीकै उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । उक्त क्याम्पसमा १४ मतदाता विद्यार्थी रहेकामा १३ मत मात्र खसेको थियो । रविना ८ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
कैलालीः कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा नेविसंघका संयुक्त उम्मेदवार भुवनराज जैशी अध्यक्ष निर्वाचित भएका छन् । महुन्याल बहुमुखी क्याम्पस भजनीमा नेविसंघकै झंकर बुढा, रघुनाथ आदर्श बहुमुखीमा रञ्जित परियार, वीरेन्द्र विद्या मन्दिरमा गोपाल खत्री र ऐश्वर्य बुहुमुखी क्याम्पसमा दीपकराज भट्ट अध्यक्षमा विजयी भएका छन् ।
यस्तै, लम्की बहुमुखीमा अखिल क्रान्तिकारीका तपेन्द्र प्याकुरेल, राष्ट्रिय कलेज सुख्खडमा अखिल क्रान्तिकारीकै सुन्दर गौतम र बुलबुले क्याम्पसमा विवेक चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । कैलालीको खप्तड बहुमुखी क्याम्पस मसुरियामा अनेरास्ववियु क्रान्तिकारीका सागर चौधरी अध्यक्षमा विजयी भएका छन् ।
डोटीः डोटीको डोटी बहुमुखी क्याम्पस सिलगढीमा नेविसंघका इन्द्र राणा स्ववियु अध्यक्षमा निर्वाचित भए । यस्तै, केदार सूर्य बहुमुखी क्याम्पस विपिनगरमा अखिल क्रान्तिकारीकी यशोदा बोहरा अध्यक्ष निर्वाचित भइन् ।
डडेल्धुराः डडेल्धुराको डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर अध्यक्षमा प्यानलसहित विजयी भए ।
बझाङ : यहाँको त्रिवेणी आर्दश क्याम्पस बिजगडामा नेविसंघका चन्द्रा बोहरा अध्यक्षमा निर्वाचित भए । यस्तै सुनकुडा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका कपिल विष्ट र बझाङदीप क्याम्पस झोतामा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका सुरेशराज जैशी अध्यक्षमा निर्वाचित भए ।
बैतडी : बैतडीको ग्रामप्रकाश बहुमुखी क्याम्पस सर्मालीमा नेविसंघकी उम्मेदवार कविता साउद अध्यक्ष निर्वाचित भइन् । श्रीकोट बहुमुखी क्याम्पस खोचलेकमा अनेरास्ववियुका निविन कपाडी अध्यक्ष निर्वाचित भए । सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडीको अध्यक्षमा नेविसंघ र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार कृष्णसिंह रावल विजयी भएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.