मङ्गलबार १०, असार २०८२ १५:०२ Paschim Nepal News
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको वर्षा जनित विपद् पूर्वानुमान तयारीको अवस्था र सहजिकरणसम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिएका हुन्।
विपद्को भयावह स्थिति आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधिहरूसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामग्री बन्दोबस्त गर्न र साझेदार संघसंस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिवहरूलाई निर्देशन दिए।
बैठकमा कैलाली र कञ्चनपूरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्थित सुरक्षा निकायमा प्रमुख र साझेदार संस्था नेपाल रेडक्रस सोसाईटी, यूएनडिपी र डब्लूएफपीका प्रतिनिधिहरूले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाव, भएको क्षति गरिएको प्रयास र अबको पूर्वतयारीको अवस्थाबारे जानकारी गराएका थिए।
बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायु परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताइएको छ। वर्षाबाट कैलाली, कञ्चनपुर डोटी र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र बाजुरा जिल्ला बढी प्रभावित हुने प्रक्षेपण गरिएको विवरण प्रस्तुत गरिएको थियो।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिराबहादुर सार्की, प्रदेश प्रमुख सचिव डा। कमलप्रसाद पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, डा। वीरेन्द्रकुमार मिश्र, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नायब प्रहरी महानिरीक्षक डम्बरबहादुर विक, साप्रनामनि प्रदीपकुमार पाल, अनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दहाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपसचिव आमोद दाहाल, माहाकाली बेसीन कार्यालय, अत्तरियाका कार्यालय प्रमुख संजयकुमार शाह, प्रमुख सेनानी सूर्यकान्त घिमिरे, नेपाल रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष दिलबहादुर बुढा, यूएनडिपी र डब्लूएफपीका प्रतिनतिहरूको उपस्थिति रहेको थियो।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.