मङ्गलबार १०, असार २०८२ १५:११ Paschim Nepal News
महेन्द्रनगर : सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीच सहकार्य विस्तार गर्दै स्वास्थ्य प्रवद्र्धनमा सामूहिक पैरवी गर्ने उद्देश्यसहित कञ्चनपुरमा स्वास्थ्य प्रवद्र्धनका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग पैरवी कार्यक्रम गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको समन्वयमा सोमबार आयोजित उक्त कार्यक्रमले सूचना र सेवाबीचको सेतु निर्माण गर्न सञ्चारकर्मीको भूमिकालाई केन्द्रित गरेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा स्वास्थ्य कार्यालय कञ्चनपुरको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले जिल्लाभर सञ्चालित स्वास्थ्य सेवा, चुनौती र योजनाहरूको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउन सञ्चारको भूमिकालाई महत्वपूर्ण हुने बताए ।त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले अस्पतालमा विशेषज्ञ सेवा प्रवाहको बारेमा जानकारी सार्वजनिक गरे । उनले पछिल्लो केही वर्षयता महाकाली अस्पतालमा सर्प दंशका बिरामीहरूको पूर्ण सफल उपचारको सुखद तथ्याङ्क सुनाए ।
स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले डेंगु, मलेरिया, कालाजारजस्ता रोग नियन्त्रणका प्रयासमा सञ्चारको निरन्तर साथले समुदायमा चेतना फैलाउन सघाएको उल्लेख गरे । उनले समग्र नेपालको स्वास्थ्य अवस्था र सुदूरपश्चिमको स्वास्थ्य स्थितिबारे तुलनात्मक तथ्याङ्क प्रस्तुत गरे । सो तथ्याङ्क अनुसार सुधार गर्नुपर्ने क्षेत्रहरूमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहनुपर्ने उनको भनाइ छ । कार्यक्रममा कञ्चनपुर जिल्लाका ५० भन्दा बढी सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । खुला संवाद मार्फत प्रश्न र जिज्ञासा लिई त्यसको समाधानका बारेमा पनि छलफल गरिएको थियो ।
सहभागीहरूले सूचनाको प्रवाह, तथ्यमा आधारित रिपोर्टिङ र स्वास्थ्य सम्बन्धी नीतिगत संवादलाई अझ सशक्त बनाउन प्रतिबद्धता जनाएका छन् । कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सञ्चारको जिम्मेवारीलाई अझ स्पष्ट पार्दै, स्थानीयदेखि केन्द्रीय तहसम्म स्वास्थ्य नीति निर्माणमा पत्रकारिता मार्फत चासो र प्रभाव बढाउने सङ्केत दिएको नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको भनाइ छ ।
भत्तावाफतको रकम महासंघको अक्षयकोषमा
यसैबिच कार्यक्रममा पत्रकारहरुलाई प्रदान गरिएको भत्तावाफतको ४० हजार रुपैयाँ सहभागि पत्रकारहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई हस्तान्तरण गरेका छन् । महासंघले स्थापना गर्न घोषणा गरेको पत्रकार अक्षयकोषमा जम्मा गर्ने उदेश्यले उक्त रकम महासंघलाई प्रदान गरेको सहभागिले जनाएका छन् ।
पत्रकार महासंघ शाखा कञ्चनपुरले हालसम्म विभिन्न माध्यमबाट अक्षयकोष स्थापनाका लागि ३ लाख बढी रकम संकलन गरिसकेको छ । पत्रकारहरुलाई अप्ठेरो पर्दा सहयोग गर्न बनाईने भनिएको अक्षय कोषको राशी २५ लाख पुगाउने लक्ष्य रहेको अध्यक्ष शुरेस सिंह धामीले बताए । ‘हामीले सबैमा अक्षयकोषका लागि सहयोगको अपिल गरेका छौ, रकम संकलन हुने क्रम जारी छ, भत्ता वाफतको रकम सहयोग गर्नुभएकोमा सम्पुर्ण पत्रकार साथिहरुमा धन्यवाद दिन चाहान्छु, साथै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछु ।, अध्यक्ष धामीले भने ‘अक्षयकोष स्थापना पछि उपचार गर्न रकम अभाव भएर कञ्चनपुरका कुनैपनि पत्रकारले ज्यान गुमाउन पर्ने छैन ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.