शुक्लाफाँटामा बाघको संख्या बढ्दोे, साघुरो क्षेत्रमै ४३ बाघ

बुधबार १४, साउन २०८२ १०:०१    Paschim Nepal News



tiger_1.jpg

महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकमा पाटेबाघको संख्या ४३ पुगेको छ । जसमा २१ वटा भाले र १९ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४३ पुगेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर २०८१ कार्तिक  देखि पौष १० गतेसम्म बाघको आन्तरिक अनुगमन गरेको थियो । यस अघि २०२२ मा भएको राष्ट्रिय गणनामा बाघको संख्या ३६ देखिएको थियो, अब २०२६ मा राष्ट्रिय गणना हुने निकुञ्ज कार्यालयले जनाएको छ । 

विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि उपयुक्त बसस्थान मानिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, बासस्थानकोे उचित व्यवस्थापनले बाघको संख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनका अनुसार निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकामा २०१८ मा १६, २०२१ मा १९, २०२२ मा ३६, २०२३ मा ३३ र २०२४ मा ४४ पुगेको थियो । निकुञ्जका अनुसार थोरै क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको यो संख्या धेरै हो । ‘यहाँ बाघका लागि आहारा र बासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन् ।’ वाग्लेले भने, ‘निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ १०० बढी पानीका ताल छन् त्यसकारण बाघको आहारा बढेकाले शुक्लाफाँटामा बाघको संख्या बढ्दै गएको हो । 

उनले शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढ्दै गएको बताए । उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् । वाग्लेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात भए पनि यसको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुलगायत समस्याले यहाँ उलेख्य पर्यटक आउन नसकेको बताए । वि.स. २०३३ सालमा नेपालको दषिण पश्चिम भागमा रहेको कञ्चनपुर जिल्लाको भारतसंग जोडिएको दक्षिण १५५ वर्ग किलामिटर क्षेत्रफललाई समेटि विश्वकै ठुलो बह्रसिंगाको बथान संरक्षणको लागि वन्यजन्तु आरक्षको रुपमा स्थापना भएको शुक्लाफाँटा बन्यजन्तु आरक्षको पूर्वतर्फ थप १५० वर्ग किलोमिटर क्षेत्रलाई समेत वि.स. २०५१ सालमा समेटि ३०५ वर्ग किलामिटर क्षेत्रफलमा विस्तार गरि २०७३ साल फगुन ९ गते राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरि संरक्षण, व्यवस्थापन र सदुपयोगका कायृ हुँदै आएको छ । यस निकुञ्जको ५२ प्रतिशत क्षेत्र साल वनले र १९ प्रतिशत भु–भाग एशियाको सबैभन्दा ठुलो घाासेमैदानले  ढाकेको छ । 

‘जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो । थोरै क्षेत्रफलमा यहाँ धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ’, वाग्लेले  भने, ‘शुक्लाफाँटा पर्यटनको ठूलो सम्भावना बोकेको गन्तव्य हो, यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण सम्भावना भएअनुसार पर्यटक आउन सकेका छैनन् ।’ यस निकुञ्जमा जंगली हात्ती, एकसिंगे गैडा, पाटे बाघ, बाह्रसिंगा, हिस्पिड खरायो, सुनगोहोरो, अजिङ्गर, कृष्णसार तथा  करिब ४६४ प्रजातिका पंछीहरु रहेका छन् । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रको क्षेत्रफल २४३.५ वर्ग किलोमिटर रहेको छ । 

नेपाल सरकारले जारी गरेको बाघ तथा आहार प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर बाघको अनुगमन गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेषर चौधरीले बताए ।  ‘क्यामेरा ट्रयापिङ’ विधिबाट बाघ गणना गर्ने गरिन्छ । शुक्लाफाँटाको क्षेत्रफललाई २ गुणा २ किलोमिटरको सय ग्रीड बनाएर स्वचालित क्यामेरा जडान गरिएका थिए । प्रत्येक ग्रीडमा एक जोडी क्यामेरा जडान गरिन्छ । सो क्षेत्रबाट आवातजावत हुँदा क्यामेराले तस्वीर कैद गर्छ । 
स्वचालित क्यामेरामा कैद भएका तस्बिरको विश्लेषण गरेर पाटे बाघको गणना गर्ने गरिन्छ । अनुगमनका लागि क्यामेरा जडान गरिएको करिब एक महिनाको अवधिमा पाटे बाघका एक हजार ६९ तस्वीर कैद भएका थिए ।‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणका लागि व्यवहार परिवर्तन’ भन्ने नारासहित मंगलबार बाघ दिवस मनाइएको छ । बाघ दिवसकै अवसरमा निकुञ्जले गत वर्षको अनुगमन नतिजा सार्वजनिक गर्नुका साथै अर्जुनी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्ग आसपास सरसफाइ पनि गरेको छ । बाघले शुक्लाफाँटाको सबै क्षेत्रमा विचरण गरेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताए । उनका अनुसार निकुञ्जको घाँसे मैदान र पूर्वी सेक्टरमा पनि बाघको विचरण पाइएको हो ।  एउटा वयस्क बाघलाई विचरणका लागि करिब ६५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्ने गरेको वनकर्मी बताउँछन् ।

पाटे बाघ अनुगमन कार्यका लागि जेड एस नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आर्थिक सहयोग तथा अनुगमन कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र रुद्रध्वज गणका कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिकहरुको सहभागिता रहेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।



प्रतिकृया दिनुहोस