बाजुरा बाढी अपडेटः १९ घर बाढीले बगे, सात घरमा क्षति

शुक्रबार ३०, साउन २०८२ ०९:५०    Paschim Nepal News



bajura_badhi.jpg

बाजुराः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा १८ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका थप आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । 

बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा, रविलाल बुढा, वीरसिंह बोहरा, धनरुप बोहरा र प्रबल बोहरा को घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए । 

बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । अझै १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चौधरीले बताए । कवाडी प्रहरी चौकीको टोलीले बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।

सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए । त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएर लगेका प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।

बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन्। स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् ।

बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् । 
 



प्रतिकृया दिनुहोस