कैलाली कारागार घटनाः ३५ कैदीबन्दी ‘डिस्चार्ज’ अन्यत्र स्थानान्तरणको तयारी

शनिबार ३१, साउन २०८२ २३:१४    Paschim Nepal News



530145378_1301884574864909_1768235182986870172_n.jpg

धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'

गत शुक्रवार राति कैदीबिच भएको हिंसात्मक झडपमा परी घाइते भएका ४८ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। तीमध्ये धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। अवस्था गम्भीर रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। बाँकी ४४ मध्ये ३५ जना निको भई डिस्चार्ज भइसकेका र नौ जना डिस्चार्ज हुन बाँकी रहेको उनले बताए। 

हड्डीमा चोटपटक लागेका पाँच घाइते कैदीबन्दीको अस्पतालले शल्यक्रिया गरेको थियो। शल्यक्रिया गरिएकासहित कोरोना अस्पतालमा राखिएकामध्ये चार जना डिस्चार्ज हुन बाँकी रहेको सूचना अधिकारी श्रेष्ठले बताए। अस्पतालले डिस्चार्ज गरेका कैदीबन्दीलाई कैलाली कारागारमा पुनस्र्थापना गर्न सकिएको छैन। उनीहरूलाई यही कारागारमा राखे पुनः आक्रमण हुन सक्ने कारागार प्रशासन र सुरक्षा निकायको विश्लेषण छ। डिस्चार्ज भएका घाइते कैदीबन्दीलाई कैलाली कारागारमै पुनस्र्थापना गर्न कठिन भएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ। अस्पतालमा राखिएका कैदीबन्दीको सुरक्षा सशस्त्र प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए। 

डिस्चार्ज भएका कैदीलाई कारागारमै राखे फेरि त्यस्तै घटना दोहोरिन सक्ने भएकाले तत्काललाई अस्पतालमै राखेको कारागारका जेलर जालन्धर भुसालले बताए। उनले डिस्चार्ज भएका घाइते कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणका लागि गृहकार्य भइरहेको उल्लेख गरे। डिस्चार्ज भएका तीन जनालाई यसअघि नै कञ्चनपुर कारागारमा सरुवा गरिसकिएको छ। अरू कैदीबन्दीलाई पनि अन्यत्र स्थानान्तरणका लागि छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। “डिस्चार्ज भएका कैदीबन्दीलाई अन्यत्र सरुवाका लागि उनीहरूका आफन्तसँग कुराकानी भइरहेको छ,' उनले भने। 

कारागार घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले आफ्नो काम गरिरहेको छानबिन समितिको सदस्यसचिवसमेत रहेका जोशीले बताए। कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्री र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको सरुवा भएको छ। कारागारको नेतृत्व जेलर भुसाल र प्रशासनको नेतृत्व कृष्णप्रसाद लम्सालले समाल्नुभएको छ।  



प्रतिकृया दिनुहोस