शनिबार ३१, साउन २०८२ २३:३५ Paschim Nepal News
कञ्चनपुर: भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा अघिल्लो दिन (साउन १९) देखि नै वर्षा भइरहेको थियो । कैलालीको टीकापुर नगरपालिका–८ का प्रकाश बुढा दम्पती धराली बजार छेउकै एउटा घरमा कोठा भाडामा लिएर बस्थे । ज्याला मजदुरीका लागि श्रीमतीसहित धराली पुगेका उनी वर्षाका कारण साउन २० का दिन दिउँसोको खाना खाएर आराम गर्ने तयारीमा थिए ।
धराली बजारको छेउ र पहाडको फेदमै रहेको उनको कोठभित्रै गड्याङगुडुङ आवाज आयो । बाहिर हेर्दा खीरगंगा नदीले चट्टानसहित बगाएर ल्याइरहेको जस्तो देखियो । त्यसपछि उनले भित्र रहेकी श्रीमती पार्वतीलाई पनि आवाज दिएर नजिकै रहेको अग्लो डाँडातिर दौडिए । त्यति बेला उनले धराली बजारमै रहेका भाइ रमेशलाई फोन गर्न प्रयास गरे । त्यति बेला फोन सम्पर्क हुन सकेन । उनका भाइ र बुहारी प्रिया अहिले बेपत्ता छन् ।
‘हामी दौडेर डाँडामा उक्लिसकेका थिएनौं, धराली बजार पूरै बगर भइसकेको थियो, आँखा झिमिक्क गर्न नपाउँदै बजार बगरमा परिणत भयो,’ धरालीमा ‘क्लाउड ब्रस्ट’पछि आएको बाढीले गरेको तहसनहसको अवस्थाबारे जानकारी दिँदै बुढाले भने, ‘भाइ बस्ने घरको नामोनिसान छैन ।’
श्रीमतीसहित गएका कारण प्रकाश र रमेश अलगअलग कोठा लिएर बसेका थिए । रोजगारीका लागि ४ महिनाअघि धराली गएका उनीहरूमध्ये प्रकाश र अन्य आफन्तको कोठा बजार छेउमै र अलि अग्लो ठाउँमा थियो । रमेशको कोठा भने धरालीकै बीच बजार खीरगंगा नदी नजिकै थियो । छेउछाउ बस्नेहरू भाग्न सफल भए पनि बीच बजारमा बसोबास भएकाहरूले त्यति बेला भाग्ने समय नपाएको उनले सुनाए ।
प्रकाश, रमेश र कान्छा तपेन्द्रसहित तीनै भाइ ४ महिनाअघि स्याउ टिप्ने र बोक्ने कामका लागि त्यहाँ पुगेका हुन् । स्याउ टिप्ने सिजन सुरु भइनसकेकाले उनीहरू त्यहाँ अन्य ज्यालादारीको काम गरिरहेका थिए । यहाँबाट गएकाहरू कोही सडक निर्माण, घर निर्माण र होटलमा काम गरिरहेका थिए ।
प्रकाशका अनुसार उनका काकासहित ९ जना बुढा परिवार धरालीमा थिए । भाइ रमेश र बुहारी प्रिया बेपत्ता भएपछि अहिले खोजी कार्य चलिरहेको छ । घरमा प्रकाशका बुबा नीमबहादुर र आमा प्याउली मात्रै छन् । प्रकाश र कान्छो तपेन्द्रलाई घर फर्किन भनिरहे पनि उनीहरूको मन मानिरहेको छैन । ‘अहिले उत्खनन गरेर बेपत्ताको खोजी भइरहेको छ, भाइ र बुहारी भेटिन्छन् कि भन्ने आश छ,’ प्रकाशले भने, ‘यत्तिकै छाडेर कसरी घर जानु ?’
काका मनबहादुरको परिवार पनि सँगै छ । प्रकाश र उनका काकासहित अन्य परिवार बस्ने कोठाहरूसमेत बाढीले पुरेको छ । लुगाकपडा, खानेकुरा र ज्यालामजदुरी गरेर कमाएको रकम समेत सबै बाढीले लगेको प्रकाश बताउँछन् । ‘शरीरमा भएको एकसरो लुगाबाहेक केही बाँकी रहेन,’ उनले भने, ‘हामी बस्ने घरकै ठेगान छैन, ज्याला पनि कोठामै झोलाको खल्तीमा राखेका थियौं, चार महिनाको कमाइ सबै बग्यो ।’
नौ जनाको चार महिनाको कमाइ करिब दुई लाख भारतीय रुपैयाँ सबै विलीन भएको प्रकाशले सुनाए । अहिले स्थानीय प्रशासनले पीडितहरूका लागि सामुदायिक भान्सा सञ्चालन गरेको छ । आफूहरू कहिले त्यहीँ भान्सामा र कति बेला दालचामल पाए आफैं पकाएर पनि खाने गरेको बुढाले बताए । ‘खान त जेतनेत भइरहेको छ, बस्ने ठेगान छैन, स्याउ भण्डारण गर्ने छाप्रोमा बसेका छौं । पानी पर्दा चुहिने भएकाले बसेर रात काट्नुपर्छ ।’ बुढा परिवार तीन वर्षदेखि कामको खोजीमा धराली जान लागेका हुन् । उनीहरू सिजनअनुसार स्याउ टिप्ने, बोक्ने र स्याउकै गोडमेल तथा रुख छेक्ने काम गर्थे । त्यसबाहेक अरु समयमा खेतीपातीदेखि सडक, घरलगायत निर्माण र होटलमा पनि काम गर्दै आएका थिए ।
आमाको उपचार गर्न गएका उतै बेपत्ता
जाजरकोटको कुशे गाउँपालिका–२ तालीगाउँका कर्णबहादुर सिंह ६५ वर्षीय श्वासप्रस्वासकी बिरामी आमा ६५ वर्षीय रुपा सिंहको उपचार गर्न धराली पुगेका थिए । उनले आमालाई ऋषिकेशमा रहेका मामाको डेरामा राखेर आफू भाइ गणेशले काम गरिरहेको ठाउँ धराली पुगेका थिए । उनका भाइ गणेश तीन वर्षदेखि त्यहाँ दैनिक ज्यालादारीमा काम गरिरहेका छन् ।
छोरी यमुनाको मुटुमा प्वाल परेको समस्या देखाएपछि गणेशले उपचार खर्च जुटाउन धरालीमा पसिना बगाइरहेका थिए । आउँदो फाुगन–चैततिर राजस्थानमा छोरीको मुटुको शल्यक्रिया गर्ने समय लिएका थिए । ‘आमाको उपचार गराउन भनेर आएका दाइ पहिरोमा परेर बेपत्ता छन्, उताबाट आमा दाइ कहाँ छ भनेर सोधिराख्नुभएको छ,’ गणेशले भने, ‘पहिरोमा परेर बेपत्ता भएको त भनेका छौं, तर आमा छोरा कहिले आउँछ भनिराख्नुभएको छ ।’
गणेशका भाइ सुरेन्द्र पनि धरालीबाट २०/२५ किलोमिटर टाढा रहेको गंगोत्रीधाममा मजदुरीको काम गर्छन् । अहिले गणेश र सुरेन्द्र दुवै जना धरालीमा दाइको खोजीमा जुटेका छन् । गणेश र कर्ण धरालीमा एउटै कोठामा बस्थे । बाढी आएका दिन कर्ण काम गरेको हिसाबकिताब गर्न भनेर धरालीको बीच बजारमा साथीभाईसँग गएका थिए । गणेश भने कोठामै थिए ।
बाढी आएको थाहा पाएपछि गणेश भागेर अग्लो डाँडामा गए । उनले दाइलाई पनि चाँडै भाग्ने भनेर फोन गरे । तर फोन लागेन । एकैछिनमा आँखा चिम्लिन नपाउँदै धरालीको चहलपहलको बजार बगरमा परिणत भएपछि उनले दाइ जीवित रहेको आश नै मारे । ‘अहिले खोजी चलिरहेको छ, लास मात्रै पाइए पनि अन्तिम संस्कार गरेर घर फर्किने थियौं,’ गाणेशले भने, ‘अब घर फर्किन पनि न शरीरमा लुगा छ, न खल्तीमा रुपैयाँ पैसा, कसरी घर पुग्ने ?’
गंगोत्रीधाममै भएका भाइ सुरेन्द्रले पाएको ज्यालासमेत कर्ण आफैंले राखेका कारण बाढीले बगाएर लगेपछि झनै समस्या भएको हो । ‘खाना त यहाँको प्रशासनले व्यवस्था गरेको छ, तर बस्ने ठेगान छैन,’ गणेश भन्छन्, ‘घर फर्किने भनेको खल्तीमा एक रुपैयाँ छैन, कसरी नेपाल पुग्नु ।’ घर पुग्नेसम्मको खर्चका लागि साथीभाइ गुहारिरहेका छन् । तर बाढीका कारण धरालीमा रहेका सबै बेखर्ची छन् ।
लुगाकपडादेखि ज्यालादारी गरेर कमाएको रकमसमेत बाढीले बगाएपछि सबै सडकमा उत्रिएका छन् । धरालीको बाढीमा परेर ६८ जना बेपत्ता भएको उत्तराखण्डको राज्य आपत्कालीन केन्द्रले जनाएको छ । जसमा २५ नेपाली नागरिकको नाम समेत समावेश गरिएको छ । तर उत्तराखण्डकै पौडीगढवालको थैलीशैण ब्लकअन्तर्गत बंकुरा गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका ४ जनाको पनि नाम समावेश भएकाले धरालीमा बेपत्ता हुने नेपालीको संख्या २१ हुन्छ । बंकुरामा पहिरोमा परी बेपत्ता हुनेमा बर्दियाका ५ जना छन् । दिल्लीस्थित नेपाली दूतावासले पनि धरालीमा २१ र बंकुरामा ५ गरी २६ जना बेपत्ता भएको बताएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.