शुक्रबार १३, भदौ २०८२ ०२:४२ Paschim Nepal News
महेन्द्रनगर : मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।
करिब ५ वर्ष अगाडि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन, प्रहरी र स्थानीय जनप्रतिनिधिले सुस्मिताको छाउगोठ पनि भत्काइदिए । त्यो बेला उनकी आमा थेबा नेपाली र फुपूहरू घरकै एक कोठामा बसे । महिनावारीका बेला घरमा बस्दा देउता रिसाएर अनिष्ट भएको भन्दै फेरि छाउगोठ बनाइयो । धेरै पटक महिनावारी भएका बेला अनिँदो बसेको सुस्मिता बताउँछिन् ।
‘कुनै बेला आमा, फुपू, दिदीहरू सँगै महिनावारी हुन्छौं । त्यति बेला सुत्ने ठाउँ नभएर अनिँदो बस्नुपर्छ । कहिलेकाहीं गोठमा एक्लै हुँदा डर लाग्छ,’ सुस्मिता भन्छिन्, ‘रक्सी खाएर मातेकाहरूले पहिले पनि छाउगोठमा बसेका दिदीहरूलाई दुःख दिन्थे । अहिले पनि रातिको समयमा त्यस्तै डर लाग्छ ।’ महिनावारी भएको ६ दिनसम्म सुत्न, खान, शौचालय जान गाह्रो हुने गरेको उनले बताइन् । ‘कति रात डरले रोएरै बित्ने गरेका छन् । देउताको डर देखाएर घरमा बस्न दिँदैनन्,’ सुस्मिता भन्छिन्, ‘छाउगोठमा निसासिएर, सर्पले टोकेर, कठ्यांग्रिएर मरेका समाचार सुन्दा झन् धेरै डर लाग्छ । छाउगोठमा बलात्कार भएका समाचार सुन्दा मन आतिन्छ । तर हाम्रो पीडा कसैले बुझ्दैनन् ।’
मेल्लेख गाउँपालिका—५ रोकाया गाउँकी १३ वर्षीया सुप्रिया उपाध्याय पनि महिनावारी भएको समयमा छाउगोठमा बस्छिन् । उनका बुबाआमा रोजगारीको सिलसिलामा भारतमा छन् । उनका दाइ र बहिनी पनि भारतमा आमाबुबासँगै बस्छन् । यहाँ भने सुप्रिया र उनकी बज्यै मात्रै छन् । महिनावारी भएका बेला बज्यैले घरको आँगनसम्म पनि आउन नदिने भएपछि हरेक महिना सुप्रियालाई तनाव हुन्छ । ‘बज्यैले महिनावारी भएका बेला आँगनमा पनि टेक्न दिनु हुन्न । कहीँकतै छोइहाल्यो भने पनि गाली गर्नुहुन्छ । मेरो कुरा बुझ्नु नै हुन्न,’ सुप्रिया भन्छिन्, ‘महिनावारी भएको बेला पेट दुख्छ । त्यसको पीडा छुट्टै छ । खुट्टा तन्काएर सुत्न नमिल्ने, श्वास फेर्न गाह्रो हुने गोठमा हरेक महिना याताना सहनुपर्छ ।’ उनी जनता नमुना मावि मेल्लेखमा कक्षा ९ मा पढ्छिन् ।
महिनावारी सुरु भएर छाउगोठमा बस्न थालेदेखि आफ्नो पढाइ पनि कमजोर हुँदै गएको सुप्रिया बताउँछिन् । ‘रातभरि छाउगोठमा डर, त्रास र यातना सहनुपर्छ । भोलिपल्ट स्कुल जाँदा पनि राति फेरि त्यही छाउगोठमा बस्नुपर्ने त हो भन्ने कुरा मनमा आइरहन्छ,’ उनले भनिन्, ‘गाउँमा सबै छाउगोठमा बस्छन् । सम्झाउने कोही पनि छैन ।’ अछामको दुर्गम गाउँकी एक १५ वर्षीया किशोरीले तीन वर्ष छाउगोठमा बसेपछि घरमा नै बस्ने भन्दै विद्रोह गरिन् । त्यसपछि उनको जीवनमा ठूलो संकट आइलाग्यो । मेल्लेख—५ विन्देवासिनी खिमाडा टोलकी १८ वर्षीया मनीषा साउदले महिनावारी भएकै समयमा समाजका मान्छेबाट विभिन्न आरोप सहनुप¥यो । उनी १३ वर्षको उमेरमा पहिलो पटक महिनावारी भइन् । गाउँमा सबै महिला तथा किशोरी
महिनावारीको समयमा छाउगोठमा बस्ने देखेकी मनीषा सहजै गोठमा बस्न तयार भइन् ।
त्यहीँबेला उनी गैरसरकारी संस्था आस्था नेपाल र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजनाले सञ्चालन गरेको
रूपान्तरण कक्षामा सहभागी भइन् । उक्त कक्षामा सहभागी भएपछि महिनावारी भएको समयमा छाउगोठमा बस्न नहुने कुरा थाहा पाइन् । छाउगोठमा बस्दा असहजता र अप्ठ्यारोले उनलाई पीर परिरहेका बेला विद्रोह गर्ने चेत रूपान्तरण कक्षाले दियो । त्यसपछि उनी महिनावारीको समयमा कसैलाई नभनी घरमा बस्न थालिन् । ‘रूपान्तरण कक्षामा सहभागी भइसकेपछि महिनावारी भएको समयमा छाउगोठमा बस्न नहुने कुरा थाहा पाएँ । हरेक महिना ६ दिनसम्म छाउगोठमा बस्दा धेरै गाह्रो महसुस भइरहेको थियो,’ मनीषाले भनिन्, ‘महिनावारी हुनु भनेको नियमित प्राकृतिक प्रक्रिया हो । त्यो समयमा बग्ने रगत अशुद्ध र अपवित्र होइन भन्ने थाहा पाएँ अनि घरमा बस्न थालें ।’
कसैलाई थाहा नदिई महिनावारीको समयमा घरमा बस्न थालेपछि उनका आफन्तले उनलाई किन महिनावारी भएन भनेर सोधखोज गर्न थाले । महिनावारी नियमित प्रक्रिया हो र सबैलाई
भनिराख्न आवश्यक छैन भन्ने बुझेकी मनीषालाई समाजले विभिन्न किसिमका आरोप लगाउन थाल्यो । उनी महिनावारी नभएको र छाउगोठमा नबसेको कुरा गाउँमा छलफलको विषय हुन
थाल्यो । ‘अहिलेसम्म किन महिनावारी भएन ? छाउगोठमा बसेको देखिँदैन । कोसँग यसको अनैतिक सम्बन्ध छ , पत्ता लगाउनुपर्छ भनेर गाउँका सबै एकजुट भए,’ मनीषाले ती दिन सम्झँदै भनिन्, । समाजको डरले उनी फेरि छाउगोठमा बस्न थालिन् । हरेक महिनाको ६ दिन छाउगोठमा बसेको समाजले थाहा पाउने भएपछि उनलाई आरोप लगाउने क्रम केही समयसम्म रोकियो ।
गत चैतमा मेल्लेख गाउँपालिकास्तरीय बाल सञ्जाल गठन हुने सूचना पाएपछि मनीषा त्यहाँ पुगिन् । बालबालिकाका सवालमा बलियो ढंगले बोल्न सक्ने उनी पालिकास्तरीय बाल सञ्जालकी अध्यक्ष भइन् । त्यतिबेलासम्म उनी महिनावारीको समयमा छाउगोठमा बस्थिन् । पालिकास्तरीय बाल सञ्जालको अध्यक्ष भएपछि उनीमाथि जिम्मेवारी थपियो । उनले फेरि विद्रोह आफैंबाट सुरु गरिन् । बाल सञ्जालको अध्यक्ष भएपछि उनी फेरि महिनावारीको समयमा घरमा बस्न थालेकी छन् । ‘बालबालिकाको सवालमा नेतृत्व गर्न सक्छे भन्ने विश्वास सबैले गरेपछि मैले पनि आँट गरें,’ मनीषा भन्छिन्, ‘आफैं बाल सञ्जालको अध्यक्ष हुने, आफैं महिनावारी भएका बेला छाउगोठमा बस्नु हुँदैन भन्ने सोच आयो । अहिले म घरमै बस्छु । जसले जे जे आरोप लगाए पनि अब मलाई केही फरक पर्दैन । तर मलाई अझै आरोप लगाइरहन्छन् ।’
छाउगोठ भत्काउने अभियान सञ्चालन भएका बेला केही हदसम्म छाउपडी प्रथा कम भएजस्तो देखिए पनि टोलटोलमा गएर बुझ्दा अवस्थामा सुधार नभएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदले बताए । उनका अनुसार छाउपडी प्रथा व्याप्त रहेको मेल्लेख—४ कुस्कोटबाट बिहीबारदेखि टोलटोलमा सचेतना जगाउने अभियान सञ्चालन भइरहेको छ । कुस्कोटमा ८ सय १५ घरधुरी रहेकामा करिब ३ सय छाउगोठ छन् । यीमध्ये धेरै गोठ सामूहिक भएको गाउँपालिका अध्यक्ष साउदले बताए । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोलीले वडामा पुगेर अभियानमा सहजीकरण गरेको उनले बताए । वडामा गठन भएको कार्यान्वयन समितिले प्रत्येक टोलमा गएर धामीझाँक्री र अगुवासँग छलफल गर्दै सचेतनाको काम गर्ने उनले बताए ।
‘अभियान चलेका बेला सरकारमा भएकाहरूले हामीले ग¥यौं भनेर जस लिनका लागि होडबाजी मात्रै गर्छन् । विकट र दुर्गम बस्तीहरूमा समस्या उस्तै छ,’ अध्यक्ष साउदले भने, ‘धेरै पटक अभियान चले, तर निरन्तरता कहिल्यै भएन । यसले गर्दा समस्या झन् बल्झेको छ । कुस्कोट लगायतका केही वडामा छाउगोठको संख्या धेरै भएको
जानकारी आएको छ । अब ८ वटै वडामा चरणबद्ध अभियान सञ्चालन गर्छौं ।’ सबै वडामा पहिलो चरणमा सचेतनामूलक अभियानका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको र थप बजेट व्यवस्था गर्ने उनले बताए ।
कञ्चनपुरमा १५० छाउगोठ भत्काइए, दोमिल्ला क्षेत्रमा मात्रै ८४ छाउगोठ
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा असार अन्तिम साता छाउगोठमा सुतेका बेला सर्पदंशबाट एक महिलाको मृत्यु भएपछि नगरपालिकाले भोलिपल्टैदेखि उक्त क्षेत्रका छाउगोठ भत्काउन अभियान नै चलायो । यसमा स्थानीयले पनि सहयोग गरे । हालसम्म दोमिल्ला क्षेत्रमा मात्रै ८४ वटा छाउगोठ भत्काइएको वडा १ का अध्यक्ष मोहन बस्नेतले बताए । उनका अनुसार सोही वडाको कुमगडा र गोजे भन्ने ठाउँका छाउगोठ भत्काउन भने बाँकी नै छ । कुमगडामा गत वर्ष पनि केही छाउगोठ भत्काइए पनि स्थानीयको अवरोधपछि रोकिएको थियो । ‘अब केही दिनमै उक्त क्षेत्रका छाउगोठ भत्काएर अभियानको समापन गर्ने योजना पनि छ,’ अध्यक्ष बस्नेतले भने ।
असार अन्तिम साता छाउपडी गोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएको थियो । छाउगोठमै सुतेका बेला सर्पले डसेपछि उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥याइए पनि मृत्यु भएको थियो । आउजीको मृत्युपछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन वडा कार्यालयहरूलाई निर्देशन दिएको थियो । १५ दिनभित्र छाउगोठ नभत्काइए कानुनी कारबाहीसँगै १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिइएको थियो । घटना लगत्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पनि सबै स्थानीय तहलाई छाउगोठ भत्काउन पत्राचार गरेका थिए ।
नगरपालिकाले छाउगोठ भत्काए पनि कतिपय महिलाले घरभित्रै बस्न सकिने अवस्था नरहेको बताइरहेका छन् । ‘केही ठाउँमा छाउगोठ भत्काउन अवरोध पनि भयो,’ वडाध्यक्ष बस्नेतले भने, ‘तर अहिले दोमिल्ला क्षेत्रमा सबै छाउगोठ भत्केका छन् ।’ उनले पनि केही महिलाहरू महिनावारी भएका बेला घरभित्र बस्न नसकेर पाल टाँगेरै बसिरहेको हुन सक्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि हालसम्म कृष्णपुर र वेदकोट नगरपालिकामा गरी १ सय ५० छाउगोठ भत्काइएका छन् । डीएसपी सागर बोहराका अनुसार साउनमा ९२ र भदौमा ५८ छाउगोठ भत्काइएका हुन् । ‘अहिले पनि छाउगोठ भत्काउने अभियान जारी छ,’ डीएसपी बोहराले भने, ‘अन्य क्षेत्रमा छाउगोठ कम छन्, धेरै भएको क्षेत्रमा भत्काइसकेका छौं ।’ उनले छाउगोठ भत्काउनुका साथै सचेतना अभियान पनि चलिरहेको बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.