महाकाली सहितका जलासयमा ऋर्षिपञ्चमी

शुक्रबार १३, भदौ २०८२ ०९:३८    Paschim Nepal News



महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदी सहित जिल्लाका अन्य नदीजलासयमा ऋर्षिपञ्चमीकोे समापन गरिएको छ । हिन्दु नेपाली महिलाको हरितालिका (तिज) पर्वको औपचारिक रुपमा समापन गरिएको हो ।  हरेक बर्ष भाद्रशुक्ल पक्षको तेस्रो तिथिबाट शुरु भई पञ्चमी तिथिका दिन औपचारिक रुपमा समापन गरिएको मान्यता अनुरुप ब्रतालु महिलाले परम्परागत रुपमा मनाउँदै आएको तिज बिहीबार महाकाली नदी सहितका अन्य जिल्लाभरीका नदी नाला जलासयमा गएर समापन गरेका छन । 

आचार्य घनश्याम लेखकले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाईएको बताए ।  आचार्य लेखकका अनुसार हरेक वर्ष भाद्र शुक्लपञ्चमीका दिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया, जलासय र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दै आएका छन । 

  यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलनललाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । आचार्य  लेखकले सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएकोे बताए ।  महिलामा रजस्वलाका समयमा कुनै त्रृटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन अनुरुप महिलाले उत्तम पती एव सन्तान पाउने मान्यता अनुरुप मनाउदै आएका छन । जिल्लाको महाकाली नदी सहितका अन्य जलासयहरुमा मा तिज समापन गर्ने महिलाको घुईचो लागेको छ । महाकाली सहितका जलायसमा तिज बिर्सजन गर्न आएका महिला श्रद्धालुहरुले परम्परागत लोक संस्कृतिको संरक्षणका साथै पति एव सन्तान घर परिवारको सुरक्षाका लागि आएको बताएका छन । 

मानिसको मृत्यु भए सदगत गर्नका लागि पुरुष मात्रै महाकाली नदि जाने गरेको भएपनि महिलाको घुईचोले धार्मिक पर्यटनको सम्भावना देखिएको जानकारहरु बताउँछन । महाकाली 
परमधाम अन्त्येष्टी घाट समितिका उपाध्यक्ष पकज रावलले महाकाली नदी धार्मिक दृष्ट्रिकोणबाट महत्वपुर्ण भएकाले स्थानीय सरकारले धार्मिक क्षेत्र बनाउनुपर्ने बताए । 

‘महाकाली नदीमा हरेक बर्ष ऋर्षि पञ्चमीमा श्रद्धालु महिलाको घुईचो लाग्दै आएको छ, ‘उनले भने, ‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यकै रुपमा बनाउनुपर्छ ।’ भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले ऋर्षि पञ्चमीका लागि ब्रतालुहरुका लागि स्थान व्यवस्थापन गरिएको बताए । तीज पर्वको औपचारिक समापनसंगै गौँरापर्व समेत शुरु भएको छ । 



प्रतिकृया दिनुहोस