बुधबार १८, भदौ २०८२ ०१:३२ Paschim Nepal News
महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।
संघको १५ औं निर्वाचनमा हालसम्म संघका वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल घोषणा गरी चुनावी मैदानमा छन । महासचिव पदका उम्मेदवार भट्ट अवस्थी प्यानलबाट उम्मेदवार छन् । भट्ट प्यानलबाट संघका वर्तमान महासचिव योगेन्द्र ठकुराठी उनका प्रतिस्पर्धी छन् ।
भीमदत्त नगरपालिका ६ ऐठपुरका भट्टको पुख्र्यौली थलो बैतडीको मेलौली नगरपालिका ६ हतरङ्गा हो । उनी निर्माण व्यवसायमा आवद्ध भएको अढाई दशक पुगेको छ । उनी शनिदेब निर्माण सेवा प्रा.लि.का सञ्चालक हुन् । २०५७ मा निर्माण कम्पनी खोलेर निर्माण व्यवसायमा आउन अघि भट्ट अन्य व्यवसायमा आवद्ध थिए । इन्जिनियर वा ओभरसिएर भएर सरकारी सेवामा जागिर खान उनले सिद्धनाथ विज्ञान क्याम्पस पढेका थिए ।
त्यस बेला सरकारी सेवाको ओभरसियर पद आकर्षक मानिन्थ्यो । इन्जिनियर हुन नसकेपछि ओभरसियर भएर सेवा गर्ने चाहना थियो । क्याम्पस पढ्दा उनमा सरकारी सेवा बाहेक आफ्नै पेशा व्यवसाय गर्ने इच्छा पनि थियो । अन्य व्यवसायको तुलनामा निर्माण कार्य गर्न गरी सेवा र देश विकासमा योगदान दिन सकिने देखिएपछि निर्माण व्यवसायमा आएका हुन् । हालसम्म भट्टले निर्माण क्षेत्रमा निरन्तरता दिएका छन् । नेपाल विद्युत प्राधिकरण र सडक डिभिजन कार्यालयका सानो रकमका ठेक्काबाट उनी निर्माण व्यवसाय अघि बढाएका हुन् । भट्टले निर्माण कम्पनी खोलेपछि सबैभन्दा पहिलो नेपाल विद्युत प्राधिकरणका तार तान्ने ठेक्का लिएका थिए ।
यो ठेक्काको रकम दुई लाख थियो । त्यति बेला उनको निर्माण कम्पनी घ वर्गको थियो । व्यवासयमा निरन्तर लागेर भट्टले अहिले कम्पनीलाई क वर्गको बनाएका छन् । उनी हाल वार्षिक एक अर्ब बराबरको निर्माणको ठेक्काको काम गर्छन् । निर्माण व्यवसायी संघमा क वर्गका सात कम्पनी छन् । भट्टले २०७५ मा कम्पनीलाई क वर्गको बनाएका छन् । २०६५ मा ग भएका उनी १० वर्षपछि क वर्गका व्यवसायी बनेका हुन् ।
भट्ट कम्पनी सडक, कार्यालय भवन, सिँचाई लगायतका विकास निर्माणका कार्य ठेक्का लिँदै आएको छ । सुदूरपश्चिमका सबै जिल्लामा निर्माण कार्य गरेका उनी कर्णाली प्रदेशको जुम्ला, हुम्ला, कालिकोट र लुम्बिनी प्रदेशको दाङ्गसम्म काम गरेका छन् । राजधानी काठमाडौंमा समेत ठेक्का लिएर काम गरेको अनुभव उनीसित छ ।
२०३० मा जन्मिएका भट्टले २०५८ मा निर्माण व्यवसायी संघको सदस्यता लिएका हुन् । भट्टले अढाई दशकमा निर्माण क्षेत्रका चुनौती, समस्या, सुधार, प्रविधि प्रयोग सबैका भुक्तभोगी छन् । उनी पहिलोको तुलनामा अहिले निर्माण व्यवसाय क्षेत्र परिस्कृत हुँदै गएको बताउँछन् ।
भट्ट निर्माणमा आउँदा अनलाईन प्रविधि थिएन । कार्यालयमा गएर कागजात पुगाउनु पथ्र्यो । कहिलेकाँही कागजात बुझाउन नसकिने अवस्था थियो । भट्ट अहिले त धेरै फरक भएको बताउँछन् । उनी पहिले र अहिलेमा आकाश पातालको फरक भएको देख्छन् ।
‘मैले व्यवसाय सुरु गर्दा अनलाईन थिएन, त्यो बेला र अहिलेको अवस्था तुलना गर्दा आकाश पातालको फरक छ’ उनी भन्छन्,‘अहिले निकै सजिलो छ, त्यति बेला त्यस्तो थिएन ।’
निर्माण क्षेत्रमा प्रविधिले सजिलो गरे पछि व्यवसायी अझै समस्या भएको उनी बताउँछन् । संघको १५ औं निर्वाचनमा आफू व्यवसायी समस्या समाधान गर्ने लक्ष्य लिएर चुनावी मैदानमा आएको उनको भनाई छ ।
‘म शुद्ध निर्माण व्यवसायी हो, मलाई निर्माण व्यवसायी क्षेत्रको समस्या, चुनौती र साथीहरुको पिर मार्का राम्रोसित थाह छ, त्यही हल गर्ने भनेर म महासचिवमा चुनाव लड्दैछु’ उनले भने । उम्मेदवार भट्टका अनुसार निर्माण व्यवसायी समयमा भुक्तानी नपाएर सबैभन्दा बढी समस्यामा छन् । ठेक्का सम्झौता गरि सकेपछि साइट क्लियर नहुने, निर्माण कार्य अवरुद्ध गर्ने, वन क्षेत्रका ऐन कानुनले काम गर्न नसकिने, कार्यालयले विभिन्न बहानामा पेल्ने लगायतका समस्या सबै व्यवसायीका साझा भएको उनी बताउँछन ।
निर्माण व्यवसायी संघको सदस्यता शुल्क घटाउने, साना निर्माण व्यवसायीलाई संघमा ल्याउने, संघको भलाई कोष वृद्धि गरी समस्यामा परेका व्यवसायीलाई सहयोग गर्ने प्रतिवद्धता लिएर उनी व्यवसायीसम्म पुगेका छन् । ‘म मैले २५ वर्षसम्म भोगेको र देखेका निर्माण व्यवसायीका समस्या समाधानको बाचा लिएर सबै व्यवसायीसम्म पुगेको छु’ उनले भने । संघको भलाई कोष केही वर्षदेखि रित्तिएको छ । भलाई कोषमा रकम नभएपछि समस्यामा परेका व्यवसायीले सहयोग पाउन सकेका छैनन् ।
निर्माण व्यवसायी भनेपछि हेलाको दृष्टिले हेर्ने पेशाका रुपमा चिनिन थालेकाले त्यसलाई हटाउनु सबै व्यवसायीले लाग्नु पर्ने उनको भनाई छ । सरकारले समय सापेक्ष ऐन कानुन बनाएर पेशालाई सुरक्षित र नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउनु पर्ने उनी बताउँछन् । ‘यो पेशा राम्रो छ, सरकारले नियम कानुन बनाई दिए भविष्यमा आकर्षण बढ्छ’ उनले भने,‘त्यसका लागि सरकारले काम गरेको समयमै भुक्तानी दिनु पर्छ, र साइडमा हुने अवरोध हटाएर सहजीकरण गरि दिनुपर्छ ।’
महासचिव पदका उम्मेदवार भट्टले नेपाल निर्माण व्यवसायी महासंघसित सहकार्य समन्वय गरी व्यवसायीका समस्या हल गर्न आफू सधैं सक्रिय हुने बताए । उनले सम्पुर्ण साधारण सदस्यहरुलाई आफुलाई भोट दिएर जिताउन आग्रह गरेका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.