बुधबार २५, भदौ २०८२ ०६:३६ Paschim Nepal News
महेन्द्रनगर: नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ । सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ । काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ । यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ ।
यता काठमाडौँमा ग्लोबल कलेजमा आगो नियन्त्रण गर्न र संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन पनि सेना खटिएको छ । पशुपति क्षेत्रमा प्रवेश गर्न खोज्नेहरुलाई सेनाले रोकेको छ । ललितपुरका सातदोबाटो, नख्खु, सानेपा, भैँसेपाटी र हात्तीवन क्षेत्रमा सेना तैनाथ भएको छ । काठमाडौँका कीर्तिपुर, टोखा, बौद्ध, कोटेश्वर, कलंकी, कालीमाटी, भक्तपुरका चाँगुनारायण, ठिमी लगायत क्षेत्रमा सेनाले
कारबाही गरिरहेको छ ।
विराटनगरमा आयल निगममा आगो लगाउने तयारी भइरहँदा सेनाले विफल पारिदिएको छ । अहिले देशैभरका प्रमुख सहरमा सेना परिचालित भइसकेको छ । नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ । देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ ।
आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ । जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१–५९७९००० नम्बर दिएको छ ।
अहिले धेरै ठाउँबाट आफ्नो क्षेत्रमा भइरहेका गतिविधिहरुबारे गुनासा र सूचना प्राप्त भइरहेका छन् ।
काठमाडौँको लुटपाटमा संलग्न प्रदर्शनकारीसँग आधुनिक हतियार र पकेट बम पनि
काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने समूह हतियारै लिएर हिँडेको पाइएको छ । कतिपय ठाउँमा उनीहरूमाथि फायर समेत गरेका छन् । केही ठाउँमा दोहोरो फायरिङ पनि भएको छ । नेपाली सेनाले केही ठाउँमा त्यस्ता हतियार धारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । टुसालमा भएको फायरिङपछि पनि सेनाले हतियार बरामद गरेको छ । हतियार, गोली, पकेट बम, पेस्तोल पनि विभिन्न ठाउँका प्रदर्शन र लुटपाटमा प्रयोग भएका देखिएका छन् । सुरक्षा स्रोतका अनुसार, केही हतियार प्रहरीबाट लुटिएका हुन सक्ने भए पनि कतिपय प्रहरीले पनि प्रयोग नगर्ने खालका हतियार देखिएका छन् । प्रदर्शनकारीहरूले केही ठाउँमा बम पड्काएका छन् । काठमाडौँको टुसाल क्षेत्रमा गोली चलेको छ । नेपाली सेना पुगेपछि त्यहाँ गोली चलेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार त्यहाँ शंकास्पद व्यक्तिहरु पहिलेदेखि नै थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको हो ।
सेनाको टोली केहीबेरअघि पनि आएको थियो । त्यतिखेर रेकी मात्र गरेर गएको थियो । पछि हतियारसहित आएपछि गोली चलाएको हो ।
फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी
नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको
छ ।
नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । यदि यस्ता गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिनका लागि तयार रहेको सेनाले स्पष्ट पारेको छ । “यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,“ सूचनामा भनिएको छ । सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ । त्यसपछि सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाइएको छ ।
आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने,‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो । त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु ।’
उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन् । प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन् । उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ ।’ सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए । उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन् ।
क्षति न्यूनीकरण र उद्धारका लागि सेना, सशस्त्र र आन्दोलनरत समूह सहकार्य गर्ने सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आक्रमण नरोकिएपछि नेपाली सेना, सशस्त्र प्रहरी र आन्दोलनरत समूह सहकार्य गर्ने भएका छन् । आन्दोलनरत समूहका प्रतिनिधिसँग प्रधानसेनापति अशोकराज सिग्देलले गरेको अनौपचारिक वार्तापछि सहकार्य गर्ने समझदारी बनेको हो ।
आन्दोलन गर्ने समूहले आन्तरिक रुपमा सम्प्रेषण गरेको सन्देशअनुसार वार्ताका क्रममा जेनजी प्रतिनिधिले पहिला उद्धार र क्षति न्यूनीकरणका लागि सेना खटाउन माग गरेका थिए । त्यसपछि क्षति न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा उनीहरुबीच समझदारी बनेको छ । सोही समझदारीअनुसार केही ठाउँमा उद्धारका लागि टोली परिचालन पनि गरिसकिएको छ ।
समूहको सन्देशमा भनिएको छ, ’क्षति धेरै भइसक्यो। मान्छेलाई बचाउने र थप संरचना ध्वस्त हुन नदिने गरी पहिला काम गरौँ। त्यसपछि औपचारिक वार्ता गरौँला ।’
यसैबीच सशस्त्र प्रहरी बल, नेपालले एक विज्ञप्ति प्रकाशित गरी यस संवेदनशील परिस्थितिमा भौतिक एवं राष्ट्रिय सम्पत्ति लगायतमा भएको क्षति नियन्त्रण, न्यूनीकरण र उद्धार कार्य गर्न जेनजीलगायत सबै पक्षहरुसँग सहकार्य गरी संयुक्त रुपमा परिचालन भई कार्य गर्न पूर्ण रुपमा तयार एवं प्रतिबद्ध रहेको जनाएको छ । नेपाली सेनाले अहिले १० बजेबाट परिस्थिति नियन्त्रणमा लिन परिचालित हुने भन्दै सूचना जारी गरिसकेको छ । सेनाले सबै सुरक्षा निकायसँग सहकार्य गर्नेछ ।
पूर्वराजा ज्ञानेन्द्रले भने– देश भित्रैबाट समस्याको समाधान निकालियोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् । नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै उनले यस्तो बताएका हुन् । ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको समेत बताएका छन् । जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर गरेको विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय भएको विज्ञप्तिमा उल्लेख छ । पूर्वराजा ज्ञानेन्द्रले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
जेनजीको आह्वान : लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अस्वीकार्य, वार्तामा बस्न तयार
जेनजी आन्दोलनका कार्यक्रम संयोजकले आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जारीगरेको विज्ञप्तिमा जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो । साथै भोलि बुधवार सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् । ‘ हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ ’ कार्यक्रम संयोजक यादवले जारीगरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीले पेस गरेको राजीनामा मंगलबारबाटै लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । संविधानको धारा ७७ को उपधारा (३) अनुसार नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान परिषद्ले कार्य सम्पादन गर्ने व्यवस्था रहेको छ । त्यसअनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्ले अर्को सरकार गठन नभएसम्म कार्यवाहकका रूपमा काम गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
जेन–जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि भन्दै ओलीले पदबाट राजीनामा दिएका थिए । उनी गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले राजनीतिक निकासका र समस्या समाधनका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।
‘२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ प्रधानमन्त्री ओलीले राजीनामा दिँदै भनेका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.