बाल्यकालको दशैँ : सम्झनामा हराएको मिठास

बुधबार १५, असोज २०८२ १४:५४    Paschim Nepal News



karna_dhami.jpg

कर्ण धामी : दशैँ त हरेक वर्ष आउँछ। असोजको अन्त्यतिरको न्यानो घाम, खेतमा पाकेका धानको सुवास, परालको थुप्रोमा खेलिरहेका गाई–बस्तु, मेलाको तयारीमा लागेका गाउँलेहरू – सबै कुरा देख्दा दशैँको आभास पाइन्छ। बजारमा भीड बढ्छ, लत्ताकपडा र जुत्ता–चप्पल किन्नेहरू ओइर्लिन्छन्।

तर बाल्यकालको दशैँमा जुन उत्साह, रमाइलो थियो, त्यो अहिलेको दशैँमा भेटिँदैन। त्यो बेला दशैँ आउनुभन्दा हप्तौं अघि नै गाउँमा हलचल सुरु हुन्थ्यो। बुबा आमाले घरको आँगन सफा गर्न लगाउँथे, गोठमा गाई–बस्तुका लागि नयाँ पराल बिछ्याइन्थ्यो। दिदीबहिनीहरू चौरमा जान्थे, कोही काँचो धान काट्थे, कोही फूल टिप्थे। हामी दाजुभाइहरू बाँस काट्न जंगलतिर जान्थ्यौं। बाँसको गन्ध, डोरी तान्दा हातमा लाग्ने रुखको बोक्रा, माटोमा खेल्दा खुट्टामा लागेको धुलो – यी सबै अझै पनि सम्झँदा मनमा मिठास ल्याउँछन्। गाउँभरि दशैंको रौनक झन् बढ्थ्यो। ढोलक, मादल र झ्यालुङको आवाज गुञ्जिन्थ्यो। बेलुकीपख युवाहरू चौतारामा भेला भएर लोकगीत गाउँथे। दाजुभाइ, दिदीबहिनीहरू पिङ हाल्दा कसको पिङ अग्लो भनेर प्रतियोगिता चल्थ्यो। पिङमा झुन्डिँदा हावाको लहर अनुहारमा पर्नु, घाम अस्ताउँदै गर्दा गोठतिर फर्किने दृश्य, चौतारामा बसेर गफगाफ गर्नु – यी सबै दशैंको वातावरणका अविभाज्य हिस्सा थिए। खानपिन पनि विशेष हुन्थ्यो। आमाले खिर, सेलरोटी, मासुको झोल बनाइदिनुहुन्थ्यो।

गाउँका घर–घरमा पकाइएका मिठा परिकारको वासना हावामा मिसिन्थ्यो। नयाँ कपडा र जुत्ता ल्याइदिने बुबाको खुशी, दिदीबहिनीको हातमा रंगीन चुरा, भाइबहिनीको अनुहारमा झन्–झन् चम्किएको मुस्कान – यी दृश्यहरू अझै मनको पर्दामा जिउँदै छन्। त्यो समयमा दशैंको अर्थ रमाइलो, खेलकुद र उपहारमै सीमित थियो। तर अहिले बुझिन्छ – त्यो सामूहिकता, मायाले भरिएको वातावरण नै दशैंको असली सुन्दरता हो। गाउँका बुढापाकाले टीका लगाउँदा दिने आशीर्वाद, “धेरै पढेर मान्छे होस्” भन्ने शुभकामना, दाजुभाइले सँगै बसेर खाने झोल–भात, हाँसोको गुञ्जन – यी सबै दशैंको सुगन्धिला अंश हुन्। आजको दशैंमा भने व्यस्तता र जिम्मेवारी बढेका छन्। शहरमा बस्नेहरूलाई गाउँघरको त्यो वातावरण केवल फोटो र सम्झनामा सीमित छ। पिङको डोरी काटिएको छ, मेलाको भीड घटेको छ, गीत–संगीत मोबाइलको एपमा मात्र बाँकी छ।

तर बाल्यकालको दशैं भने खेतमा, आँगनमा, चौतारामा, खेलकुदमा, मायामा र सँगै बसेर खाने खानेकुरामा थियो। दशैं आउँदा अझै पनि ती दृश्यहरू झल्झली सम्झिन्छु। पिङ हल्लिँदा हावाको स्पर्श महसुस हुन्छ, बुबाआमाको मायाले रंगिएको त्यो समय मनभित्र फेरि आउँछ। बाल्यकालमा जस्तै अब रमाइलो गर्न नसके पनि ती सम्झनाहरूले दशैंलाई अझै विशेष बनाइराखेका छन्। दशैं त हरेक वर्ष आउँछ। घरमा जमरा पल्छ, पूजा हुन्छ, मिठाई बनाइन्छ, टीका–जमरा लगाइन्छ। तर बाल्यकालको मिठास, त्यो निश्चिन्त रमाइलो, त्यो सामूहिक खुशी भने अब सम्झनामा मात्र बाँकी छ।



प्रतिकृया दिनुहोस