डोरीले स्तन बाँधेर स्कुल गएँ, लुकीलुकी प्याड लगाएँ (भिडियो)

सोमबार २२, मङि्सर २०८२ १९:५०    Paschim Nepal News



nnnnnn.jpg

एक यस्तो व्यक्तिको कथा हो, जसले आमाको गर्भबाटै दुःखहरू लिएर जन्मिए । उनी छोरा थिएनन्, छोरी पनि थिएनन् । अस्पष्ट लिंगको कारण उनलाई ‘छोरा’ भनी हुर्काइयो । तर, हुर्कँदै जाँदा उनका स्तन बढ्न थाले । स्तन लुकाउन डोरीले कसिलो बनाएर बाँधे । त्यसलाई लुकाउन गर्मी याममा पनि ज्याकेट लगाए । बाँधिएको स्तनमा घाउ हुन्थ्यो, पिप बग्थ्यो ।

यससँगै उनको कटक्क पेट दुख्यो । अनि महिनावरी हुन थाल्यो । रगत लुकाउन लुकीछिपी कपडा लगाए । ‘म को हुँ ? मलाई के भइरहेको छ ?’ उनले कुनै भेउ पाएनन् ।

मनको पीडा पोख्नलाई साथमा बुबा थिएनन् । धीत मर्नेगरी रुनलाई आमा पनि थिएनन् । आफ्नो जिन्दगी उनी आफैंलाई भार लाग्न थाल्यो ।

…………………

के जीवन कहिल्यै नसकिने पीडाको शृंखला हो ? निरज साउदको मनमा बारम्बार घोचिरहने प्रश्न हो यो । जन्मँदा उनी के थिए ? अहिले के भए ? उनी स्वयम्ले भेउ पाएनन् । न आमाले थाहा पाइन्, न बाबाले ।

उनी छोरा थिएनन्, छोरी पनि थिएनन् । लिंग पहिचान नै गर्न सकिदैनथ्यो । म को हुँ ? सायद यो प्रश्न उनले आमालाई सोध्न सक्थे । तर, निरज दूधे बालक छँदै आमाको निधन भयो ।

आमा गुमाएको ९ वर्ष बितेको थिएन, बुबाको पनि निधन भयो । उनी एक्ला भए । दुई दिदी थिए, उनीहरू पनि बेसहारा बने । आखिर जेठा मामाले यी लालाबालाको स्यहारसुसार गरे ।

उनलाई ‘छोरा’ भनी हुर्काइयो । जबकि उनको यौनांग न छोराको थियो, न छोरीको । त्यसैले सानैदेखि उनलाई असामान्य र रोगी जसरी व्यवहार गर्न थालियो । निरजलाई कहिल्यै ‘तिमी फरक छौ’ भनेर बुझाइएन, बरू ‘लुकाउनुपर्छ’ भन्ने मनोवैज्ञानिक दबाब दिइयो ।

यसरी गर्भबाटै लिएर आएको दुःख तन्किदै गयो, जति‍जति उनी हुर्कदै गए ।

बुबा डडेलधुराबाट कञ्चनपुर बसाइँ सरेका थिए, जसले कागजातहरूमा समस्या निम्त्यायो । नागरिकता बनाउन डडेलधुरा जानुपर्‍यो, जहाँ मुचुल्का, पुलिस रिपोर्ट र गाउँलेहरूको सर्जमिनी आवश्यक थियो । गाउँलेहरूले जमिनको लोभले सहयोग गरेनन्, अन्ततः अर्को गाउँबाट सिफारिस लिएर नागरिकता बन्यो ।

कोरोना समयमा मास्क खोल्न लगाएर जिल्ला प्रशासन कार्यालयका अधिकृतले ‘तिमी छोरा हो कि छोरी ?’ भनेर सोधे, जसले सार्वजनिक रूपमा अपमानित महसुस गरायो । यो घटनाले निरजलाई एउटा गहिरो पीडा दियो ‘मेरो शरीर राज्यको कागजमा पनि स्वीकार्य छैन ।’

यातनापूर्ण स्कुल जीवन

स्कुल जीवन निरजका लागि यातनाको सुरुवात थियो । साथीहरूले शारीरिक विकास देखेर टिप्पणी गर्थे । केटाहरूसँग बस्दा हिचकिचाहट, केटीहरूसँग बस्दा अस्वीकार । ‘केटा साथीहरू बस्न हिचकिचाउँथे, केटीहरू रुचाउँदैनथे किनकि मलाई छोरा भनेर हुर्काइएको थियो’ निरज भन्छन् । कक्षा ८ मा स्वास्थ्य किताबमा ‘महिला, पुरुष र तेस्रो लिंगी’ पढ्दा आफूलाई तेस्रो लिंगी ठाने । शिक्षकले तेस्रो लिंगीको कुरा गर्दा निरजलाई हेर्थे, जसले शंका बढायो । स्कुलले ‘अपाङ्ग’ भनेर छात्रवृत्ति दियो, तर वास्तविक अवस्थाबारे थाहा थिएन ।

किशोरावस्थामा शारीरिक परिवर्तनले थप पीडा दियो । उमेर बढेसँगै स्तन विकास हुन थाल्यो, जसले छोराको पहिचान बोकेका निरजलाई असहज बनायो । ‘स्तन बढ्न थाल्यो, त्यो लुकाउन डोरीले कसिलो थरी बाध्थें’ उनी पीडा सुनाउँछन्, ‘गर्मीमा पिप आउँथ्यो, घाउ हुन्थ्यो, तर टिसर्ट मात्र लगाएर हिँड्न सक्दिनथें ।’ अरूले केही भन्ला कि भन्ने डरले गर्मीमा पनि ज्याकेट लगाएर हिँड्थे उनी ।

किशोरअवस्थामा पुगेपछि निरजलाई महिनावारी पनि हुन थाल्यो । पेट दुख्ने, बान्ता होला जस्तो र कमजोरी महसुस हुन्थ्यो । पहिलो महिनावारीमा उनलाई एकदम गाह्रो भयो । खान मन नलाग्ने, पेट दुख्ने । तर पनि कसैलाई भन्न सक्दैनथे । परिवारले के भन्छ, समाजले देख्यो भने झन् अलग बस्नुपर्छ भन्ने डर थियो । लुकीलुकी प्याड प्रयोग गर्थे । एक्लै बस्थे । यो उनका लागि उक पीडा शारीरिक मात्र थिएन, शरीरको दुखाइ भन्दा मनको पीडा भयानक ठूलो थियो । ‘म छोरा हो, तर महिनावारी किन ?’ भन्ने प्रश्नले उनलाई बारबार घोचिरहन्थ्यो ।

राना समुदायमा बस्ने निरजको घर भारत सीमा नजिक थियो । जहाँ चाडपर्वमा तेस्रो लिंगी समुदायलाई नाच्न बोलाउने चलन थियो । साथीहरूले ‘तँलाई पनि लिन आउँछन्, ताली बजाएर माग्नुपर्छ’ भनेर जिस्क्याउँथे । यस्तो सुन्दा निरज खेल्दाखेल्दै भागेर घर जान्थे । ढोका लगाएर रुन्थे । यस्ता डर र संकोचले उनको बाल्यकालको बालसुलभता, खेलकुद, रमाइलोपन पूरै खोस्यो । यसले उनलाई आत्महत्याको सोचमा पुर्‍यायो, त्यो पनि पटक-पटक ।

‘सबैबाट विभेद, म के हो भनेर खुलेर भन्न सकिनँ, किन बाँच्नु भन्ने लाग्यो’ उनी भन्छन् ।

पहिचान खोज्दा अपमान

दिदीहरूको बिहेपछि मामाको बोझ बढ्यो । कक्षा १० पछि उनलाई प्लस टु पढ्न आर्थिक समस्या भयो । धनगढी, महेन्द्रनगरतिरका होटलमा काम गरे । होटलमा काम गर्दा आफूलाई डाक्टर बताउने एक ग्राहकले हरेक दिनजसो ‘तिमी छोरा हो कि छोरी ?’ भनेर सोध्थे । निरज चुपचाप नै बस्थे । एकदिन नजिक आएर ‘योनाङ्ग हेर्छु’ भन्दै झम्टिए । त्यसपछि निरज रुँदै कोठामा भागे । त्यही घटनाकै कारण उनले त्यहाँको काम छोडे । यो घटनाले उनलाई ठूलो चोट दियो ।

१० कक्षा पास गरेपछि उनले आफ्नो पहिचानका आधारमा सिफारिसपत्र बनाउन वडा कार्यालय गएका थिए । यसले पढाइ र कतै पाउने अवसरका लागि सजिलो हुने उनको विश्वास थियो । तर वडा कार्यालयमा समेत ‘यो केटा हो कि केटी ?’ भन्ने बहस भयो । र, अपमानजनक व्यवहार भयो । चिकित्सकको रिपोर्ट मागियो, तर अस्पतालमम जाँदा डाक्टरहरूले ‘यो शारीरिक विकासको कुरा हो, लेख्न मिल्दैन’ भने ।

वडा कार्यलायमा धेरै पटक धाएपछि सिफारिस त पाए, तर तेस्रो लिंगी भनेर लेखिएन, केवल अनाथ भएको आधारमा छात्रवृत्ति दिनू भनेर लेखियो ।

नयाँ आशा

निरजको जीवनमा परिवर्तन आयो जब उनी क्याम्पेन फर चेन्ज संस्थाका निर्देशक ईशान रेग्मीसँग जोडिए । ईशानले शिक्षामा सहयोग गरे । निरज काठमाडौं आएर आधारशीला कलेजमा ब्याचलर अध्ययन गर्न थाले ।

उनी संस्थामा काम पनि गर्छन् । यहाँ अन्य अन्तरलिंगी साथीहरू भेटेपछि उनको एक्लोपन कम भयो । निरजले २१ वर्षमा आफू अन्तरलिंगी भएको थाहा पाए, पहिले आफूलाई तेस्रो लिंगी ठान्थे । ‘म किन यस्तो जन्मिएँ भनेर पहिले आत्महत्याको प्रयास गरेको थिएँ, तर अब बुझियो’ निरज भन्छन्, ‘विश्वभर अन्तरलिंगीहरू छन्, यो प्राकृतिक कुरा हो ।’

पहिले पैसा कमाएर शल्यक्रिया गर्ने सोच थियो निरजको, तर साथीहरूको अनुभव र साइड इफेक्ट देखेर अब शल्यक्रिया गर्ने सोच छैन ।‘जन्मँदा शारीरिक अवस्था जस्तो थियो त्यसलाई नै स्विकारेको छु’ उनी सुनाउँछन् ।

अन्तरलिंगी पनि हुन्छन् भन्ने कुरा समाजले स्वीकार्न नसकेको निरज बताउँछन् । ‘अहिले इन्टरनेटमा अन्तरलिंगीबारे धेरै जानकारी छन्, तर समाजले अझै तेस्रो लिंगी भनेर मात्र बुझ्छ’ उनी भन्छन्, ‘जन्मदर्ता र नागरिकतामा ‘अन्य’ विकल्प छ, तर अन्तरलिंगी स्पष्ट छैनन् ।’ राज्यले अन्तरलिंगी भनेर खुल्ने कार्ड दिए सहज हुने उनको

निरजको कथाले नेपालमा अन्तरलिंगी व्यक्तिहरूको प्रतिनिधित्व गर्छ । जहाँ जागरुकता, स्वास्थ्य सेवा र कानुनी संरक्षणको अभाव छ । उनीहरूले सामना गर्ने विभेदहरूले समाजलाई प्रश्न गर्छ विविधतालाई किन स्वीकार गर्दैनौ ?
…………………

अन्तरलिंगी अवस्था भनेको जन्मजात शारीरिक विशेषता हो, जसमा यौनाङ्ग, क्रोमोजोम वा हर्मोनहरू पुरुष वा महिलाको परम्परागत मापदण्डमा पूर्णरूपमा फिट हुँदैनन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, अन्तरलिंगी व्यक्तिहरूको संख्या विश्वभरि १.७ प्रतिशतसम्म हुन सक्छ । नेपाल जस्ता समाजमा यसबारे जागरुकता अत्यन्त कम छ । यसले गर्दा अन्तरलिंगी व्यक्तिहरूले पहिचानको खोजीमा मात्र होइन, दैनिक जीवनमा पनि गम्भीर विभेद र संघर्षको सामना गर्नुपर्छ ।

सुदूरपश्चिमको कञ्चनपुरमा जन्मिएका निरजको जीवन यही अवस्थाको जीवन्त प्रतिबिम्ब हो । एकातिर आफ्नो पहिचानको खोजी, अर्कोतिर समाज, परिवार, शिक्षा र रोजगारीको दबाबमा निरन्तरको संघर्ष । निरज जन्मँदा नै अस्पष्ट यौनाङ्ग लिएर जन्मिएका थिए । चिकित्सकीय भाषामा यो ‘इन्टरसेक्स भेरिएसन अफ सेक्स क्यारेक्टरिस्टिक्स’ हो, जहाँ यौनाङ्ग पुरुष वा महिलाको जस्तो स्पष्ट हुँदैन वा आन्तरिक अङ्गहरूमा भिन्नता हुन्छ । परिवारलाई यसबारे कुनै पूर्वज्ञान थिएन ।

घरमा दुई दिदीहरू थिए, त्यसैले छोराको अपेक्षा थियो । त्यसैले निरजलाई अस्पताल लगियो, जहाँ डाक्टरले सल्लाह दिए, ‘पाँच वर्षपछि आउनुहोस्, एक लाख रुपैयाँ लाग्छ, सर्जरी गरेर छोरा बनाइदिन्छौं ।’

परिवारको आर्थिक स्थिति कमजोर भएकाले यो सम्भव भएन । यो सल्लाहले परिवारमा एउटा गहिरो मानसिक दबाब सिर्जना गर्‍यो ‘बच्चा अपूर्ण छ, ठीक पार्नुपर्छ’ भन्ने भ्रम। । तर वास्तवमा, अन्तरलिंगी बच्चालाई ‘ठीक’ पार्नु आवश्यक छैन, यो प्राकृतिक विविधता हो ।

साभार ; अनलाइनखबर



प्रतिकृया दिनुहोस